
वीरेन्द्रनगर, सुर्खेत।
उद्योग वाणिज्य संघ सुर्खेतका पूर्व अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरेन्द्रनगरका सभापति लक्ष्मण कँडेलले कर्णाली प्रदेश अस्पतालको विशेषज्ञ स्वास्थ्य सेवा तत्काल सुदृढीकरण गर्न माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
बिहीबार पठाइएको ध्यानाकर्षण पत्रमा प्रदेश अस्पताल कर्णालीवासीको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै भौतिक पूर्वाधार र भवन निर्माणमा भएको प्रगति प्रशंसनीय भए पनि गुणस्तरीय सेवा प्रवाहमा गम्भीर प्रश्न खडा भएको औंल्याइएको छ। "अस्पताल कति ठूलो बन्यो?" भन्दा पनि "कर्णालीवासीले त्यहाँबाट कति गुणस्तरीय स्वास्थ्य सेवा पाए?" भन्ने विषय अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।
अस्पतालका आधिकारिक विवरणमा विभिन्न विशेषज्ञ विभागहरू उल्लेख भए पनि ती कागजी रूपमा मात्र सीमित नभई विशेषज्ञ जनशक्ति, अत्याधुनिक उपकरण र प्रभावकारी व्यवस्थापनसहित नियमित सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ।
ध्यानाकर्षण पत्रमा प्रस्तुत मुख्य ८ बुँदे मागहरू:
१. विशेषज्ञ तथा उपविशेषज्ञ चिकित्सकको तत्काल व्यवस्थापन: न्यूरोलोजी, न्यूरो सर्जरी, कार्डियोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, पल्मोनोलोजी, एन्डोक्राइनोलोजी, युरोलोजी, बालरोगका उपविशेषज्ञ तथा इमर्जेन्सी र क्रिटिकल केयर लगायतका सेवा नियमित रूपमा उपलब्ध गराइयोस्।
२. कागजी विभाग होइन, प्रभावकारी सेवा सुनिश्चितता: वेबसाइटमा विभाग उल्लेख गरेर मात्र नपुग्ने भन्दै प्रत्येक विभागमा आवश्यक specialist चिकित्सक, नर्सिङ जनशक्ति, प्राविधिक कर्मचारी, उपकरण र औषधिको सुनिश्चितता गरियोस्।
३. न्यूरो तथा मुटु उपचारमा विशेष प्राथमिकता: नसा, मस्तिष्क र हृदयघातजस्ता आकस्मिक बिरामीलाई नेपालगञ्ज वा काठमाडौं रेफर गर्नुपर्ने बाध्यता अन्त्य गर्न आवश्यक ICU, डायग्नोस्टिक सुविधा र आकस्मिक उपचार प्रणाली सुदृढ गरियोस्।
४. विशेषज्ञ चिकित्सक टिकाउने स्पष्ट नीति: कर्णालीमा आउने विशेषज्ञ चिकित्सकहरूलाई अड्याइराख्न आकर्षक सेवा-सुविधा, आवास, शैक्षिक/अनुसन्धानको अवसर र कार्यसम्पादनमा आधारित प्रोत्साहनको व्यवस्था गरियोस्।
५. उपकरणको 'उपयोगिता अडिट': अस्पतालमा खरिद गरिएका महँगा उपकरणहरूको स्थिति (कुन सञ्चालनमा छ, कुन बिग्रिएको छ वा जनशक्ति अभावमा कुन थन्किएको छ) बारे प्राविधिक मूल्याङ्कन गरी सार्वजनिक गरियोस्।
६. रेफरल घटाउने स्पष्ट कार्ययोजना: आगामी ६ महिनादेखि १ वर्षभित्र कुन-कुन विशेषज्ञ सेवा सञ्चालन गर्ने भन्ने स्पष्ट टाइमलाइनसहितको कार्ययोजना सार्वजनिक गरी बिरामी रेफरल दर घटाइयोस्।
७. सेवा गुणस्तर मापन प्रणाली: बिरामी संख्या, सफल उपचार, रेफरल दर, मृत्यु दर र गुनासो समाधानका सूचकहरू सार्वजनिक गर्ने प्रणाली निर्माण गरियोस्।
८. राजनीतिक हस्तक्षेपमुक्त व्यवस्थापन: अस्पताललाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी व्यावसायिक र परिणाममुखी व्यवस्थापन प्रणालीमार्फत सञ्चालन गर्न आवश्यक अधिकार र जवाफदेहिता प्रदान गरियोस्।
नेता कँडेलले विगतको आलोचना वा राजनीतिक बहसमा समय खर्चिनुभन्दा कमजोरी पहिचान गरी तत्काल सुधारको दिशामा अघि बढ्न प्रदेश सरकारलाई आग्रह गरेका छन्। अस्पतालको वर्तमान सेवा, जनशक्ति र उपकरणको स्वतन्त्र प्राविधिक समीक्षा गरी प्रतिवेदन सार्वजनिक गर्न र सोही आधारमा थप सेवा विस्तार गर्ने ऐतिहासिक जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको पत्रमा उल्लेख छ।


