कर्णाली उत्सवको सातौँ संस्करण आजदेखि सुरु: ‘कुरा कर्णालीका’ बहस र सांगीतिक माहौलले तातिँदै वीरेन्द्रनगर
वीरेन्द्रनगर, सुर्खेत कर्णालीको पहिचान, मुद्दा र सम्भावनाको मन्थन गर्ने ‘कर्णाली उत्सव’को सातौँ संस्करण आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदै छ। ‘कुरा कर्णालीका’ भन्ने मूल नाराका साथ सिटी हलको आँगनमा आयोजना हुने यो उत्सव चैत २८ देखि ३० गतेसम्म चल्नेछ।
आज दिउँसो १२ बजे भव्य समारोहका बीच उत्सवको उद्घाटन गरिने आयोजकले जनाएको छ। साहित्य, कला, संगीत, समाज र विकासका विविध विषयमा गहन बहस र प्रस्तुति हुने यस उत्सवले कर्णालीको समग्र अवस्था र भविष्यको मार्गचित्रबारे नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस्तो छ पहिलो दिनको कार्यतालिका:
उद्घाटन र विशेष प्रस्तुति: उद्घाटन सत्रमा ‘सात धुनबाट’ कार्यक्रमसँगै मोहनमाया ढकालको नेतृत्वमा ‘नारी नेतृत्व’ र ‘सात वर्ष सात प्रयास’ शीर्षकमा अडियो–भिडियो प्रदर्शन हुनेछ।
बैकिङ र प्रवचन: देवेन्द्ररमण खनालले ‘कर्णालीमा बैकिङ लगानी’ र केशव दाहालले ‘मोक्षभूमि कर्णाली’ विषयमा विशेष प्रवचन दिनेछन्।
बहसका सत्रहरू: दिउँसो १:३० बजेदेखि ‘सुइना कर्णालीका’ र ३ बजे ‘जेन–जी: सडकदेखि सदनसम्म’ शीर्षकमा युवापुस्ताको बहस हुनेछ।
प्रेरणादायी कथा: डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले दिउँसो ४ बजे ‘पैकेलो’मार्फत आफ्नो सफलताको संघर्ष सुनाउनेछिन्।
साँझका सत्रहरू: ‘शक्तिको सोपान बाँडफाँटदेखि विकाससम्म’ र हरिराम न्यौपानेको ‘पोजिसन कर्णाली’ विषयक प्रस्तुति रहनेछ।
सांगीतिक आकर्षण: 'कर्णाली कन्सर्ट'
उत्सवको पहिलो दिनलाई सांगीतिक बनाउन साँझ ६:३० बजे ‘कर्णाली कन्सर्ट: जुरुक्क कर्णाली’ आयोजना हुनेछ। जसमा जदौ हजुर ब्यान्ड, देउडा गायक इब्सल सञ्ज्याल, स्मारिका फुयाँल र विपना सिंह लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।
तीन दिनसम्म चल्ने यो उत्सवले कर्णालीको सांस्कृतिक प्रवर्द्धनका साथै यहाँका चुनौती र अवसरमाथि नीतिगत बहस सिर्जना गर्ने विश्वास लिइएको छ।