
☀️जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी अधिकांश भूभागमा भने मौसम मुख्यतः सफा रहनेछ।🌡️ मुख्य शहरहरूको अधिकतम र न्यूनतम तापक्रम (अनुमानित):शहरअधिकतम तापक्रमन्यूनतम शहर,अधिकतम तापक्रम,न्यूनतम तापक्रम काठमाडौं,२०-२१°C,६-८°C पोखरा,२१-२३°C,९-११°C नेपालगञ्ज,२६-२८°C,१०-१२°C विराटनगर,२८-३०°C,१०-१२°C घोडाघोडी,२४-२६°C,९-११°C जुम्ला,२०-२२°C,-४ देखि -२°C

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले ‘कुटी दरबार’ सम्बन्धमा आलोचनात्मक टिप्पणी गरेका छन्। मन्त्री पुनले हालै सम्पन्न बंगल सेलिमाको प्रोफाइल भ्रमण लाई उद्धृत गर्दै सार्वजनिक स्रोत र जग्गाको प्रयोगमा पारदर्शिता र जिम्मेवारीको माग गरेका हुन्। उनले सामाजिक सञ्जाल र वक्तव्यमा भने, “पहिले साधारण छाप्रोलाई ‘कुटी’ भनिन्थ्यो, अब आलिसान महल जस्ता संरचनालाई समेत ‘कुटी’ भनिनुले भ्रम र दोहोरो मानक स्थापित गरेको छ।” ‘कुटी’ को नाममा सार्वजनिक स्रोतको प्रयोग विषयमा टिप्पणी पुनका अनुसार, सार्वजनिक जग्गा तथा स्रोतको उपयोग गर्दा पारदर्शिता, आवश्यकता–आधारित योजना र सामाजिक न्यायको माग अवलम्बन हुनुपर्छ। उनले थपे, “कुनै संरचना ‘महल’ वा ‘कुटी’ भनेर नामाकरण हुनु भन्दा पहिले त्यसले सार्वजनिक हितमा कति सेवा गर्छ? भन्ने सिधा प्रश्नको उत्तर आवश्यक छ।” मन्त्री पुनले निर्माण स्वीकृति दिने इन्जिनियर, स्थानीय प्रशासन र सिफारिसकर्ता सबैलाई जिम्मेवार बनाउनु पर्ने पनि उल्लेख गरेका छन्। उनका शब्दमा, “स्रोतको दुरुपयोग रोक्न र जनता–सिंकाका पक्षमा काम गर्न सबै सरोकारवालाले मिलेर काम गर्नुपर्छ।” सार्वजनिक सरोकार र लोकतन्त्र उनले यो टिप्पणी लोकतन्त्र, सामाजिक न्याय र सार्वजनिक उत्तरदायित्व सुदृढ गर्न आवश्यक भएको वताएका छन्। यसअघि उनले ग्रामीण विकास, प्रविधि पहुँच र शिक्षा सुधारका विषयमा काम गर्दै आएका छन् र हाल सरकारमा मन्त्री पदमा रहेकाले उनीका टिप्पणीलाई राजनीतिक र सामाजिक सन्दर्भ दुवैबाट हेरिएको छ। मन्त्री पुनको यो अभिव्यक्ति सामाजिक मिडिया तथा राजनीतिक चर्चा विषयमा व्यापक रूपमा समेटिएको छ।

कञ्चनपुरका ५६ वर्षीय केशव डगौराको जीवन सङ्घर्ष र सफलताको एक अनुपम कथा हो। दुई दशकअघि सरकारले कमैया मुक्तिको घोषणा गर्दा रित्तो हात र चार कट्ठा जमिनबाहेक केही नभएका डगौरा आज मासिक एक लाख रुपैयाँसम्म कमाउने सफल उद्यमी बनेका छन्। शुक्लाफाँटा नगरपालिका-१०, झलारीमा उनले पक्की घर मात्र ठड्याएका छैनन्, आफ्नो अथक परिश्रमले सिङ्गो समुदायका लागि आशा र प्रेरणाको स्रोत बनेका छन्। उनको विगत भने निकै कष्टकर थियो। जिमिन्दारको घरमा पुस्तौनी कमैयाको रूपमा जीवन बिताएका उनका बुबाको पदचाप पछ्याउँदै उनले बाल्यकालदेखि नै कठोर श्रमको सामना गरे। दश वर्षको उमेरमा गोरु चराउने र पन्ध्र वर्षमा हलो जोत्ने जिम्मेवारी उनको काँधमा आयो। ऋणको पासोमा परेर उनी आफैँ पनि कमैया बस्न बाध्य भए, जहाँ बिहानको उज्यालोदेखि रातिसम्म कामको बन्धनमा बाँधिनुपर्थ्यो। २०५७ सालमा सरकारले कमैया प्रथा उन्मूलन गरेपछि डगौराको जीवनले नयाँ मोड लियो। पुनःस्थापना अन्तर्गत पाएको जग्गामा सानो झुपडीबाट नयाँ यात्रा थालेका उनले गरिबी निवारण कोषको समूहमा आबद्ध भएर उद्यमशीलताको बाटो रोजे। सुरुमा दश हजार रुपैयाँ ऋण लिएर बङ्गुरपालन थालेका उनले अनेकौं चुनौतीको सामना गर्दै त्यसलाई विस्तार गरे। पछि थप ऋण लिएर स्थापना गरेको सानो कुटानी-पिसानी मिल आज उनको सफलताको आधार बनेको छ। डिजेल इन्जिनबाट सुरु भएको मिल अहिले आधुनिक मेसिन र विद्युतबाट चल्छ, जसमा उनले सात लाखभन्दा बढी लगानी गरिसकेका छन्। यही मिलको आम्दानीले उनको झुपडी पक्की घरमा परिणत भएको छ भने सातै जना छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन्। आफूले शिक्षाको मुख देख्न नपाए पनि छोराछोरीलाई डाक्टर-इन्जिनियर बनाउने सपना बोकेका डगौरा दम्पतीको यो यात्राले देखाउँछ– दृढ सङ्कल्प, निरन्तर मिहिनेत र सही समयमा लिइएको निर्णयले जस्तोसुकै अँध्यारोलाई पनि चिर्न सकिन्छ।

यस वर्षको हिउँदमा देशभर अधिकांश स्थानमा मौसम सुख्खा र न्यानो रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको हिउँदकालीन आँकलन अनुसार, देशका धेरैजसो भूभागमा वर्षा सरदरभन्दा कम हुनेछ भने अधिकतम तथा न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी रहने सम्भावना छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ। यद्यपि, सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही उत्तरी–पश्चिमी भूभागमा भने वर्षाको अवस्था सामान्य वा बढी पनि हुन सक्ने सम्भावनालाई नकारिएको छैन। वर्षाको कमीसँगै तापक्रममा भने वृद्धि हुने देखिएको छ। देशभरका अधिकांश क्षेत्रमा न्यूनतम र अधिकतम तापक्रम औसतभन्दा बढी रहने अनुमान गरिएको हो। समग्रमा, न्यानो र सुख्खा हिउँदको यो प्रक्षेपणले कृषि तथा वातावरणीय क्षेत्रमा पर्न सक्ने सम्भावित असरहरूतर्फ सङ्केत गरेको छ। नेपालमा सामान्यतया मङ्सिर १५ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम मानिन्छ।

नेपाली सेनाको इतिहासमा एक दुर्लभ र प्रेरणादायी अध्याय थपिएको छ, जहाँ एकै परिवारका बाबुछोरीले एकैपटक सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) पदमा सफलता हासिल गरेका छन्। बैतडीको सुर्नया गाउँपालिका-५ कारिकोटका ४३ वर्षीय नरेन्द्रबहादुर विष्ट र उनकी २० वर्षीया छोरी आयुसा विष्टले यो ऐतिहासिक कीर्तिमान रचेका हुन्। २४ वर्षको लामो सैनिक सेवापछि पदोन्नति हुँदै नरेन्द्र अधिकृत बन्न सफल भए भने छोरी आयुसाले आफ्नो पहिलो प्रयासमै यो गौरवमय सफलता प्राप्त गरिन्। यो अद्वितीय संयोगले उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा एउटै दर्जामा सँगै तालिम लिने अवसर जुरायो, जुन नेपाली सेनाको इतिहासमा सम्भवतः पहिलो घटना हो। हाल नरेन्द्र बारास्थित सबुज गणमा कार्यरत छन् भने आयुसा खरिपाटीमा आफ्नो तालिमलाई निरन्तरता दिइरहेकी छिन्। "आफू पनि फौजी, छोरी पनि फौजी, यसभन्दा ठूलो गर्व के हुन्छ र?" भन्दै नरेन्द्रले व्यक्त गरेको खुसीले उनीहरूको समर्पण र राष्ट्रसेवाप्रतिको पारिवारिक लगावलाई स्पष्ट पार्छ। बाबुछोरीको यो सफलताले सैनिक परिवारको त्यागलाई मात्र नभई नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

नेपाली संगीतका अमर नक्षत्र, ‘स्वरसम्राट्’ नारायणगोपाल गुरुवाचार्य प्रेम, वियोग, संघर्ष र जीवनदर्शनका गीतहरू मार्फत लाखौँ श्रोताको हृदयमा बस्न सफल छन्। उनको सांगीतिक यात्रा जति चर्चित छ, उनको व्यक्तिगत जीवनका पानाहरू पनि उत्तिकै मार्मिक र रोचक घटनाले भरिएका छन्। डिसेम्बर ५ तारिखको दिन नेपाली संगीतका लागि एक कालो दिन हो, जुन दिन राति ९:२५ मा नारायणगोपालले भौतिक संसारबाट बिदा लिए। यो मिति विश्वप्रसिद्ध संगीतकार वुल्फग्याँग अमादियस मोत्सार्टको निधन भएको दिनसँग मिल्नु एक अनौठो संयोग हो, तर त्योभन्दा पनि आश्चर्यजनक संयोग वीर अस्पतालको त्यो तलामा घटिरहेको थियो, जहाँ नारायणगोपालले अन्तिम श्वास फेर्दै थिए। त्यही समय, त्यही तलामा, उनकी पहिलो प्रेमिका ‘बेबी’ पनि आफ्ना बिरामी पतिको सेवामा थिइन्। त्यो पीडादायी क्षणमा नर्सको भुलबस उनीहरूको फाइलसमेत साटिएको घटनाले नियतिको त्यो खेललाई अझ गहिरो बनाउँछ। नारायणगोपालको पहिलो प्रेमकथा भारतबाट नृत्य सिकेर फर्किएकी ‘बेबी’सँगको भेटबाट सुरु भएको थियो। वसन्तपुरमा आयोजित नृत्य कार्यक्रममा बेबीको कलाबाट मोहित भएका नारायणगोपालले भोलिपल्टै उनलाई कविता सुनाए, जसबाट सुरु भएको सम्बन्धले उनीहरूलाई विजयेश्वरी मन्दिरको साक्षी बनायो। एकदिन नारायणगोपालले गोजीबाट सिन्दूर निकालेर विवाहको प्रस्ताव राख्दा बेबीले पारिवारिक प्रक्रिया पूरा गर्न आग्रह गरिन्, तर त्यो सम्बन्धले पूर्णता पाउन सकेन। दार्जिलिङमा पुगेर टुंगिएको त्यो अपुरो प्रेमपछि नारायणगोपालको जीवनमा पेमाला लामाको प्रवेश भयो। पत्रमित्रताबाट सुरु भएको यो सम्बन्धलाई कर्म योञ्जन र नगेन्द्र थापा जस्ता मित्रहरूको सहयोगले विवाहमा परिणत गर्यो। पेमाला नारायणगोपालको संगीतकी सबैभन्दा ठूली प्रशंसक मात्र थिइनन्, उनको जीवनको बलियो आधार पनि बनिन्। नारायणगोपालले ‘चिनारी हाम्रो धेरै पुरानो’ गीत पेमालाका लागि गाएको बताउँदा उनीहरूको प्रेमले अमरता पाएको थियो। नारायणगोपालको निधनपश्चात् पेमालाले उनको विरासतलाई जोगाउन आफूलाई समर्पित गरिन्। उनले नारायणगोपाल संगीत कोष स्थापना गरी नयाँ प्रतिभालाई प्रोत्साहन दिनेदेखि संगीतकर्मीको रोयल्टी अधिकारका लागि निरन्तर आवाज उठाइरहिन्। नारायणगोपालले गीत छान्दा जति कुशलता देखाउँथे, जीवनसाथी छनोटमा पनि उनी उत्तिकै विवेकशील थिए भन्ने कुरा पेमालाले उनको अनुपस्थितिमा गरेको अथक संघर्षले प्रमाणित गर्छ। आज नारायणगोपालका गीतहरू अमर छन् भने त्यसको श्रेय उनको स्वरलाई मात्र होइन, त्यो स्वरलाई जीवित राख्न आजीवन लडिरहने पेमालाको समर्पणलाई पनि जान्छ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य सुस्त देखिएको छ। ३० महिनाभित्र सम्पन्न गर्ने गरी २०८१ असारमा ठेक्का सम्झौता भए पनि निर्धारित समय सीमा सकिन अब ८ महिना मात्र बाँकी रहँदा आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशत मात्रै पुगेको छ। महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार रङ्गशालाका संरचनाहरूको काम विभिन्न चरणमा रहेका छन्: यउटा टावरको निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ भने दोस्रो टावरको दोस्रो तला ढलानको काम सकिएको छ। कुल चारवटा प्यारापिटमध्ये एउटाको काम सकिएको छ, दुईवटाको ढलान भइसकेको छ र बाँकी एउटाको काम भर्खरै सुरु भएको छ। मैदान निर्माणको काम सुरु भइसकेको छ। वर्षायाम अगाडि नै मैदानमा बर्मुडा घाँस रोप्ने र ५ वटा पिच तयार पार्ने योजना रहेको छ। भूमिगत पावर केबल जडान, प्लम्बिङ र पहुँच मार्ग (बाटो) बनाउने काम पनि सँगसँगै अघि बढाइएको छ। लागत र बजेट व्यवस्थापन हिमालयन कालिञ्चोक बिबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा २०८३ पुस २२ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो। यस आयोजनामा बागमती प्रदेश सरकारले कुल बजेटको ७० प्रतिशत हिस्सा व्यहोर्ने छ। सङ्घीय सरकार र भरतपुर महानगरपालिकाले बाँकी लागतको साझेदारी गरेका छन्। चालु आर्थिक वर्षका लागि महानगरले ४ करोड रुपैयाँ विनियोजन गरेको छ भने सङ्घीय सरकारसँग थप बजेट माग गरिएको छ। महानगरको ताकेता निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाउँदै भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई काममा तीव्रता दिन निर्देशन दिएका छन्। उनले भने, "हाम्रो तर्फबाट बजेट वा सहजीकरणमा कुनै समस्या छैन। हामीले निर्माण कम्पनीलाई तोकिएको समयमै काम सक्न पटक-पटक ताकेता गरिरहेका छौँ।" धुर्मस-सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण काम छाडेपछि महानगरले यस आयोजनाको अपनत्व लिएर तीनै तहका सरकारको समन्वयमा निर्माण अघि बढाएको हो। यद्यपि, कामको हालको गति हेर्दा २०८३ पुससम्म रङ्गशाला पूर्ण रूपमा तयार हुनेमा भने चुनौती देखिएको छ।

मिति: २०८२ मंसिर २१ स्थान: डोल्पा स्रोत: vitrikura.com काईके गाउँपालिका–७, डोल्पाका निवासी विजय मगर ले आफ्नो असाधारण सफलता र योगदानमार्फत केवल डोल्पा जिल्लाको मात्र होइन, सिङ्गै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उज्यालो पारेका छन्। उनको सक्रियता, प्रतिभा र निरन्तर परिश्रमले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म गर्वको विषय बनेको छ। परिवार, स्थानीयवासी र समुदायका पक्षबाट विजय मगरप्रति गर्व र सम्मान व्यक्त गरिएको छ। डोल्पा जिला काईके का युवा नेता तथा जन प्रतिनिधी राम चन्द्र रोकायले खुसि ब्यक्त गर्दै शुभकामना समेत ब्यक्त गर्नु भयको छ। “डोल्पा मात्र होइन, सिङ्गै देशको नाम उच्च राखिदिएकोमा विजय मगरलाई हृदयदेखि धन्यवाद र हार्दिक शुभकामना व्यक्त गर्दछु” विजय मगरले प्राप्त गरेको सफलताले डोल्पाका युवा क्षमताको प्रमाण प्रस्तुत गरेको छ भने देशभरका युवालाई प्रेरित पनि बनाएको छ। समुदायले विजय मगरको उपलब्धिलाई डोल्पाको गौरवपूर्ण पहिचानका रूपमा स्वागत गरेको छ।

काठमाडौँ। कर्णालीका प्रतिभाशाली खेलाडी प्रभिन बयकज्यू ले १३ औँ कोरियन एम्बासडर अन्तर्राष्ट्रिय ते’’क्वान्दो प्रतियोगितामा कांस्य पदक हासिल गर्दै प्रदेशको गौरव बढाएका छन्। दक्षिण कोरियाली दूतावासको आयोजना तथा नेपाल ते’’क्वान्दो संघको समन्वयमा सम्पन्न यो प्रतिष्ठित प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीहरूको उपस्थिति रहेको थियो। कडा प्रतिस्पर्धाबीच प्रभिनले उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पारेका हुन्। पदकसँगै उनलाई Merit Certificate समेत प्रदान गरिएको छ। उनको सफलताले कर्णाली प्रदेशमा मात्र होइन, समग्र नेपालमा पनि ते’’क्वान्दो क्षेत्रको प्रतिष्ठा उचो बनाएको छ। स्थानीय तहदेखि खेल क्षेत्रमा सक्रिय संघ–संस्थाहरूले प्रभिनको सफलताप्रति प्रसंसा व्यक्त गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अझै उत्कृष्ट परिणाम ल्याउने विश्वास व्यक्त गरेका छन्। प्रभिन बयकज्यूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज एक रोमाञ्चक मोडमा आइपुगेको छ, जहाँ प्लेअफको दौडमा रहेका टोलीहरूका लागि यो दिन निर्णायक हुनेछ। आज हुने दुई खेलले प्रतियोगिताको आगामी समीकरण स्पष्ट पार्नेछ, जसमा दुई टोलीका लागि 'गर या मर' को स्थिति छ। दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। पाँच खेलबाट केवल चार अङ्क जोडेको पोखरालाई प्लेअफको गणितीय सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने बाध्यता छ। उता, ६ खेलबाट आठ अङ्कका साथ सहज स्थितिमा रहेको काठमाडौँ जितसहित आफ्नो स्थान थप बलियो बनाउने लक्ष्यमा हुनेछ। त्यसैगरी, दिउँसो हुने दोस्रो खेलमा अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ। १० अङ्कका साथ बलियो देखिएको सुदूरपश्चिमविरुद्ध मैदान उत्रँदा चितवनलाई भने जित्नै पर्ने चर्को दबाब छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको चितवनका लागि प्लेअफको यात्रा कायमै राख्न आजको जित अनिवार्य बनेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफको दौडमा आफूलाई जीवितै राखेको छ। शेर मल्लको धारिलो बलिङ र अस्ट्रेलियन ब्याट्सम्यान डी'आरसी शर्टको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले लुम्बिनीले महत्वपूर्ण जित दर्ता गर्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको हो। यो जितसँगै लुम्बिनीले प्लेअफमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ, तर त्यसका लागि उसले आफ्नो अन्तिम लिग खेलमा जनकपुर बोल्ट्सलाई हराउनै पर्नेछ। विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा नायक बनेका डी'आरसी शर्टले प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको सानदार पारी खेले। राम्रो सुरुवात गरे पनि सुवास भण्डारीले एकै ओभरमा सुमित महर्जन (१०) र कप्तान रोहित पौडेल (०) लाई आउट गरेपछि लुम्बिनी केही दबाबमा आएको थियो। तर, सन्दीप जोराले २४ तथा निरोशन डिकवेलाले अविजित २९ रनको योगदान दिँदै टोलीलाई जितसम्म डोर्याए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। लुम्बिनीका बलरहरूले कसिलो प्रदर्शन गर्दै विराटनगरका स्टार खेलाडी फाफ डु प्लेसिसलाई १२ रनमा सीमित पारे। विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन जोडे। लुम्बिनीका लागि 'प्लेयर अफ द म्याच' घोषित शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका थिए।

काठमाडौं- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। National life त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ। चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ। दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ। चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज (आइतबार) र भोलि (सोमबार) देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई दिने यस अभियानमा ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने लक्ष्य राखिएको छ। अभियानका मुख्य बुँदाहरू: भिटामिन ‘ए’: ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई। जुकाको औषधि (अल्बेन्डाजोल): १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई। जनशक्ति परिचालन: देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी खटिएका छन्। स्थानिय तहले तोकेका नजिकैका खोप केन्द्र वा वडा कार्यालयमा भिटामिन A र जुकाकाे अाैषधि खुवाउने भयकाे छ । भिटामिन ‘ए’ र जुकाको औषधि? स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको आँखाको ज्योति बलियो बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता र शारीरिक विकासमा मद्दत पुर्याउँछ। त्यस्तै, जुकाको औषधिले पेटको किरा फाल्ने मात्र नभई बालबालिकालाई कुपोषण, रक्तअल्पता (रगतको कमी), पेट दुख्ने र झाडापखाला जस्ता स्वास्थ्य समस्याबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। नेपालमा भिटामिन ‘ए’ कार्यक्रम वि.सं. २०५० देखि आठ जिल्लाबाट सुरु भई २०५९ देखि देशभर विस्तार गरिएको थियो। जुकाको औषधि खुवाउने अभियान भने २०५६ मा सुरु भई २०६७ सालदेखि ७७ वटै जिल्लामा लागू गरिएको हो। सरकारले प्रत्येक वर्षको कात्तिक र वैशाख महिनामा यो सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ। आफ्ना बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकलाई अनुरोध गरेको छ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूआई) मा चिकित्सकहरूको टोलीले सोमबार ओलीको शल्यक्रिया गरेको हो। सफल शल्यक्रिया: पूर्वनिर्धारित समय तालिकाअनुसार नै चिकित्सकहरूले पित्तथैलीको शल्यक्रिया सम्पन्न गरेका हुन्। ढुंगाको आकार: चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीबाट करिब २२ एमएम आकारको ढुंगा निकालिएको छ। अस्पताल भर्ना: स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई चैत १४ गते नै अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था अस्पताल स्रोतका अनुसार शल्यक्रियापछि ओलीको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ। उहाँलाई केही समय चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा राखिने र स्वास्थ्यमा सुधार भएपछि मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। यसअघि, भक्तपुरको गुण्डुस्थित निजी निवासमा रहँदा स्वास्थ्यमा जटिलता देखिएपछि उहाँलाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो

सुर्खेत, पुस १ कर्णाली प्रदेशसहित देशका विभिन्न भू–भागमा चिसो बढ्दै गएको भन्दै सरोकारवालाहरूले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम निरन्तर घट्दै गएकाले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगी बढी प्रभावित हुने जोखिम बढेको छ। विशेष स्रोतका अनुसार चिसो मौसमका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकी, ज्वरो तथा उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या देखिन सक्ने भएकाले अतिरिक्त सतर्कता आवश्यक छ। बिहान र बेलुकाको समयमा चिसो बढी महसुस हुने भएकाले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। चिसोबाट बच्न न्यानो कपडा लगाउने, ओढ्ने–ओछ्याउनेको उचित व्यवस्था गर्ने, तातो पानी र झोलिलो खानेकुराको सेवन बढाउने तथा आगो वा हीटर प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने विशेष स्रोतले जनाएको छ। बन्द कोठामा कोइला वा दाउराको प्रयोग गर्दा निस्सासिने जोखिम रहने भएकाले हावापसारको उचित व्यवस्था गर्न पनि आग्रह गरिएको छ। यस्तै, कुहिरो र चिसोका कारण बिहानको समयमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। कमजोर वर्ग, सडकमानव र विपन्न समुदायलाई न्यानो कपडा तथा राहत सामग्री उपलब्ध गराउन स्थानीय तह र सामाजिक संघसंस्थालाई पनि आग्रह गरिएको छ। चिसो अझै केही दिन बढ्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन सरोकारवालाहरूले पुनः आग्रह गरेका छन्।

काठमाडौँ - स्वस्थ जीवनशैली अपनाउने क्रममा काजु र बदाम जस्ता ड्राइ फ्रुट्स (सुख्खा फल) को सेवनलाई महत्त्वपूर्ण मानिन्छ।[1] स्वादमा मीठो हुनुका साथै यी ड्राइ फ्रुट्स विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छन्, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ।[2][3] नियमित र सही तरिकाले काजु र बदामको सेवनले अनेकौं स्वास्थ्य फाइदाहरू पुग्दछन्। काजु र बदाममा पाइने पोषक तत्व काजु र बदाम दुवैमा शरीरका लागि आवश्यक चिल्लो पदार्थ (ओमेगा–६ र ओमेगा–३), प्रोटिन, फाइबर, भिटामिन र खनिज पदार्थहरू प्रचुर मात्रामा पाइन्छन्।[1] काजु: आइरन, जिंक, म्याग्नेसियम, कपर, पोटासियम, भिटामिन 'बी' र 'सी' जस्ता पोषक तत्वको राम्रो स्रोत हो।[2][4] बदाम: प्रोटिन, क्याल्सियम, भिटामिन 'ई', फाइबर र ओमेगा ३ फ्याटी एसिडले भरपूर हुन्छ।[1][5] नियमित सेवनका फाइदाहरू १. मुटु स्वास्थ्यमा सुधार: विभिन्न अध्ययनहरूले ड्राइ फ्रुट्सको सेवनले मुटु रोगको जोखिम कम गर्ने देखाएका छन्।[1] काजु र बदाममा पाइने स्वस्थ चिल्लो पदार्थले रगतमा भएको हानिकारक कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।[2] हप्तामा पाँच दिन बदाम खाने व्यक्तिलाई हृदयाघात हुने सम्भावना ५० प्रतिशतले कम हुने एक शोधले देखाएको छ।[6] २. मधुमेह र रक्तचाप नियन्त्रण: काजु र बदाममा प्राकृतिक रूपमै सोडियम कम र पोटासियम बढी हुने भएकाले उच्च रक्तचापका बिरामीका लागि यो लाभदायक हुन्छ।[1][2] यसको नियमित सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि मद्दत पुग्छ।[1] ३. मस्तिष्कको विकास र स्मरणशक्ति: काजुमा पाइने भिटामिन 'बी' र बदाममा पाइने ओमेगा ३ फ्याटी एसिडले मस्तिष्कलाई तेजिलो बनाउन मद्दत गर्छ।[2] विशेषगरी बालबालिकाको मस्तिष्क विकासका लागि बिहान खाली पेटमा भिजाएको बदाम खुवाउनु फाइदाजनक मानिन्छ।[4][6] ४. हड्डी र दाँत बलियो बनाउँछ: काजु र बदाममा पाइने क्याल्सियम, म्याग्नेसियम र फस्फोरसले हड्डी र दाँतलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।[2][3][4] यसको सेवनले ओस्टियोपोरोसिस (हड्डी खिइने रोग) को खतरा पनि कम हुन्छ।[6] ५. पाचन प्रणालीमा सुधार: यी दुवै ड्राइ फ्रुट्समा फाइबरको मात्रा राम्रो हुने भएकाले पाचन प्रक्रियालाई स्वस्थ राख्न र कब्जियतको समस्या हटाउन मद्दत गर्दछ।[3][4] ६. तौल नियन्त्रण: दैनिक २५ देखि ३० ग्राम (करिब १५-२० वटा बदाम वा ९ वटा ओखरको गुदी बराबर) ड्राइ फ्रुट्सको सेवनले तौल नियन्त्रणमा मद्दत पुग्ने अध्ययनले देखाएको छ।[1] ७. छाला र कपालका लागि फाइदाजनक: काजुमा पाइने प्रोटिनले अनुहारलाई चम्किलो बनाउँछ भने बदाममा भएको भिटामिन 'ई' ले छालालाई मुलायम राख्न मद्दत गर्छ।[2][6] यसले कपाललाई पनि चमकदार बनाउँछ।[2][3] कति र कसरी खाने? स्वास्थ्य विज्ञहरूका अनुसार प्रशोधन नगरिएको अर्थात् नुन वा तेल प्रयोग नगरिएको काजु र बदाम खानु स्वास्थ्यका लागि उत्तम हुन्छ।[1] मात्रा: सामान्यतया, दैनिक २५-३० ग्राम ड्राइ फ्रुट्सको सेवन लाभदायक मानिन्छ।[1] यदि तौल बढाउन चाहनुहुन्छ भने दैनिक ३०-४० ग्रामसम्म खान सकिन्छ।[7] तरिका: काजु र बदामलाई बिहान खाली पेटमा खानु बढी फाइदाजनक मानिन्छ।[4] बदामलाई रातभर पानीमा भिजाएर बिहान सेवन गर्दा अझै बढी फाइदा पुग्छ।[6] यसलाई खाजाको रूपमा वा विभिन्न परिकारमा मिसाएर पनि खान सकिन्छ।[2] ध्यान दिनुपर्ने कुराहरू काँचो काजुमा 'उरुसिओल' नामक विषाक्त रसायन हुन सक्ने भएकाले भुटेको वा प्रशोधित काजु मात्र खानु सुरक्षित हुन्छ।[2] युरिक एसिडको समस्या भएका व्यक्तिले पनि काजुको सेवन निर्धक्कसँग गर्न सक्छन् किनकि यसले युरिक एसिड बनाउँदैन।[2][8] आवश्यकताभन्दा बढी मात्रामा सेवन गर्दा तौल बढ्ने र अन्य स्वास्थ्य समस्या देखिन सक्ने हुनाले सन्तुलित मात्रामा खानु जरुरी छ।[1] समग्रमा, आफ्नो दैनिक आहारमा काजु र बदामलाई सही मात्रामा समावेश गर्नाले शरीरलाई स्वस्थ र ऊर्जावान् राख्न महत्त्वपूर्ण योगदान पुग्छ।

मिति: २०७५/०९/१५ स्थान: काठमाडौं सज्जन शिक्षिका अम्बिका कंडेलले अभिभावकहरुले छोराछोरीको अनुशासन, आचरण र अध्ययनप्रति बेवास्ता गर्दै विद्यालयमाथि अनावश्यक दबाब दिने प्रवृत्तिप्रति कडा आपत्ति जनाएकी छन्। उनीका अनुसार अभिभावकहरुले आफ्ना छोराछोरीको चरित्र निर्माणमा आवश्यक जिम्मेवारी नलिँदा विद्यालय र शिक्षकहरूलाई “यातना दिनेहरू” को रूपमा प्रस्तुत गरिन थालेका छन्। शिक्षिकाका शब्दमा, “गृहकार्य दिदा पनि यातना भो रे, गृहकार्य नगरेको कुरा भन्नासाथ पनि यातना भो रे। किन छाडा भइस्, अनुशासनमा बस् भन्दा पनि यातना भो रे।” उनले थप भनिन्, “गल्ति गर्दा छोराछोरी सम्झेर एक–दुई लपेटा दिए पनि यसलाई अभिभावकले यातना भन्ने गर्छन्। भोलि कपाल काटेर आउ भन्नेबित्तिकै पनि असन्तुष्टि देखाउँछन्। विद्यालयको पोशाक लगाएर आउ, समयमा आउ भन्नुस् — त्यतिले पनि आजकल अभिभावक रिसाउँछन्।” कंडेलका अनुसार, अभिभावक स्वयंले बच्चाहरूको कमजोर बानीलाई प्रोत्साहन गर्ने गरेको पाइएको छ। “रातभर मोबाइलमा गेम खेल्न दिने, बिहान १०–११ बजेसम्म सुताउन दिने अनि अभिभावक स्वयंले ‘सुतिरहेको छ, आज स्कुल आउन सक्दैन’ भनेर बहाना बनाइदिने — यसले बच्चालाई अझ बिगारिरहेको छ।” उनी भन्छिन्, विद्यालय र शिक्षकको भूमिकालाई ‘केयर टेकर’सँग दाँज्नु गलत बानी हुँदै आएको छ। “हामी शिक्षक हौँ, केयर टेकर होइन। औपचारिक शिक्षाका संवाहक हौँ। तर अभिभावकहरुले आफ्ना बच्चाको आचरण, अनुशासन र समय व्यवस्थापनको जिम्मेवारी विद्यालयमाथि थोपर्न थालिसके।” अभिभावकप्रति कडा सन्देश दिंदै कंडेल भन्छिन्, “हाम्रोबाट वकालत नगराउनुस्। आफ्नै बच्चालाई आफैं सुधार्नुस्। आवश्यक छ भने घरमै राख्नुस् र सरकारसँग घरघरमा शिक्षक पठाइदिन आग्रह गर्नुस्। शिक्षकको काम शिक्षा दिनु हो, बिग्रेका आचरण सुधार्ने सुधार केन्द्र चलाउनु होइन।” उनीका अनुसार विद्यालयको उद्देश्य शिक्षाको गुणस्तर बढाउनु हो, अनुशासनहीन बानी सुधार्ने ‘पुनर्सुधार गृह’ होइन। उनले अन्त्यमा अभिभावकलाई स्मरण गराइन् — “विद्यालय सुधार केन्द्र होइन, आफ्नै बच्चा आफैँ सुधार्नुस्।”

नेपालमा विद्युत् उत्पादन र प्रयोग बढेसँगै पेट्रोलियम पदार्थको आयात र खपतमा उल्लेख्य गिरावट आएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिना (साउन–फागुन) मा प्रमुख इन्धनहरूको आयात घटेको हो। यातायातमा विद्युतीय सवारी (ईभी) र भान्सामा विद्युतीय चुलोको बढ्दो आकर्षणका कारण पेट्रोलियम पदार्थमाथिको परनिर्भरता कम हुँदै गएको मन्त्रालयको निष्कर्ष छ। कुन इन्धनको आयात कति घट्यो? पेट्रोल: १० प्रतिशतले घटेर ४ लाख ३८ हजार किलोलिटरमा सीमित। डिजेल: ९.९ प्रतिशतले घटेर ७ लाख ९१ हजार किलोलिटर। एलपी ग्यास: ११.१ प्रतिशतले घटेर ३ लाख २२ हजार मेट्रिक टन। मट्टीतेल र हवाई इन्धन: मट्टीतेल ४७.७ प्रतिशत र हवाई इन्धन ८.६ प्रतिशतले गिरावट। आयातसँगै स्वदेशी बजारमा पेट्रोलको बिक्री ६.४ प्रतिशत र डिजेलको बिक्री ८.७ प्रतिशतले घटेको छ। विद्युत् क्षमता ४ हजार मेगावाट नाघ्यो इन्धनको खपत घटिरहँदा देशको जलविद्युत् क्षमता भने उल्लेख्य रूपमा विस्तार भएको छ। २०८२ फागुनसम्म मुलुकको कूल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ। हाल देशको ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगिसकेको छ भने कूल ऊर्जा खपतमा विद्युत्को हिस्सा बढेर १२.१ प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ। यस सकारात्मक परिवर्तनले देशको व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्रा सञ्चितिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

सडक स्तरोन्नति, टेलिकम टावर निर्माण र विद्युतीकरणको माग राख्दै सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन् | वडामा आधारभूत विकासका पूर्वाधारहरू नपुगेको र जनताले वर्षौंदेखि सास्ती खेप्नुपरेको भन्दै वडाध्यक्ष रिजाल सुर्खेतस्थित मुख्यमन्त्री कार्यालयको मूल गेट अगाडि लामखुट्टे झुल टाँगेर शान्तिपूर्ण धर्नामा बसेका हुन् । उनको यो आन्दोलनमा वडा सदस्य विर्खबहादुर राना लगायत स्थानीय युवा तथा सामाजिक अभियानकर्मीहरूले पनि ऐक्यबद्धता जनाउँदै साथ दिएका छन् । –स्वामीबास–बबई सडकखण्डको तत्काल स्तरोन्नति तथा कालोपत्रे गरिनुपर्ने र र इन्टरनेट सेवाका लागि तत्काल टेलिकमको टावर निर्माण गरिनुपर्ने । साथै अनकन्टार र दुर्गम बस्तीहरूमा तत्काल विद्युत विस्तार गरिनुपर्ने अध्यक्षकाे माग रहेकाे छ । प्रदेश सरकारको योजना अन्तर्गत गत वर्ष पिलर ठड्याएर अलपत्र पारिएको पुलको निर्माण कार्य तत्काल सम्पन्न गरिनुपर्ने । "हामीले वर्षौंदेखि दुःख पाएका छौँ । सडक छैन, फोनले काम गर्दैन, नागरिकले आधारभूत सेवा पाउन पनि ठुलो संघर्ष गर्नुपरिरहेको छ," धर्नास्थलबाट वडाध्यक्ष रिजालले भने, "पटकपटक मन्त्रालय धाएर आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर प्रदेश राजधानीमै आउनुपरेको हो । माग पूरा नभएसम्म धर्नाबाट उठ्ने छैनौँ । आवश्यक परे आगामी असार १ गते (बजेट आउने दिन) सम्म पनि धर्ना जारी रहन सक्छ ।" जनताका प्रत्यक्ष सरोकारका विषयमा प्रदेश सरकारले ठोस सम्बोधन नगरेसम्म धर्ना कार्यक्रम निरन्तर अगाडि बढाउने अडान आन्दोलनरत पक्षको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन, बजेट खर्च तथा आन्तरिक स्रोत परिचालनमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनको सारांशअनुसार कर्णाली प्रदेश राजस्व संकलनमा लक्ष्यनजिक पुगे पनि बजेट कार्यान्वयन, आन्तरिक स्रोत परिचालन र बेरुजु व्यवस्थापनमा अझै गम्भीर चुनौती कायम देखिएको हो । महालेखाको प्रतिवेदनअनुसार कर्णाली प्रदेशको बजेट कार्यान्वयन क्षमता निकै कमजोर देखिएको छ । आव २०८१/८२ मा कुल ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले १९ अर्ब ९९ करोड ७४ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो कुल बजेटको ६३.६७ प्रतिशत मात्रै हो, जुन सातै प्रदेशमध्ये सबैभन्दा कम खर्च प्रतिशत हो । कुल खर्चमध्ये चालुतर्फ ९ अर्ब ७ करोड र पुँजीगत (विकास) तर्फ १० अर्ब ९२ करोड रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । कर्णाली प्रदेश सरकारले आव २०८१/८२ मा १० अर्ब २१ करोड ९७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ९ अर्ब ३ करोड ३८ लाख रुपैयाँ मात्र संकलन गर्न सकेको छ । यो लक्ष्यको ८८.४० प्रतिशत हो । अन्य प्रदेशको तुलनामा कर्णालीको राजस्व संकलन मध्यम अवस्थामा रहे पनि यसले पूर्ण लक्ष्य भने भेट्न सकेन । आन्तरिक स्रोत परिचालनतर्फ पनि कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा सबैभन्दा कमजोर देखिएको छ । प्रदेशले गरेको कुल खर्चमध्ये केवल ५०.१६ प्रतिशत मात्र आफ्नै स्रोतबाट व्यहोरेको पाइएको छ । बाँकी आधाभन्दा बढी खर्चका लागि कर्णाली प्रदेश संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा वित्तीय हस्तान्तरणमा निर्भर रहनुपरेको छ । यो सातै प्रदेशमध्ये सबैभन्दा कम आन्तरिक स्रोत परिचालन क्षमता हो । महालेखापरीक्षकको प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा वित्तीय अनुशासनको अवस्था पनि चिन्ताजनक छ । आव २०८१/८२ मा लेखापरीक्षण गरिएको ३७ अर्ब १९ करोड रुपैयाँमध्ये ७७ करोड ३५ लाख रुपैयाँ बेरुजु कायम भएको छ, जुन कुल रकमको २.०८ प्रतिशत हो । यो प्रतिशत मधेश प्रदेशपछि देशभरिमै दोस्रो उच्च बेरुजु हो । यसैसँगै हालसम्म कर्णाली प्रदेशको कुल बाँकी बेरुजु ४ अर्ब ७३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । जसमध्ये ६९ करोड ७६ लाख रुपैयाँ त पेस्की रकम मात्रै रहेको प्रतिवेदनले देखाएको छ । महालेखाको सुझाव: प्रतिवेदनले कर्णाली प्रदेशमा बजेट कार्यान्वयन क्षमता कमजोर रहेको र संघीय अनुदानमा निर्भरता अत्यधिक रहेको औंल्याएको छ । आगामी दिनमा वित्तीय अनुशासन सुदृढ गर्न, विकास आयोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्न, राजस्वको दायरा विस्तार गर्न र बेरुजु फर्छ्योटमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने महालेखाको निष्कर्ष छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा सर्वसाधारणलाई ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि एकैसाथ छापा मारेको छ। शुक्रबार गरिएको उक्त विशेष कारबाहीका क्रममा प्रहरीले ६९ जना कन्सल्टेन्सी सञ्चालकहरूलाई नियन्त्रणमा लिएको छ। विदेश पढ्न पठाइदिने प्रलोभन देखाएर नेपाली नागरिकहरूलाई ठगी गरेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उपत्यकाका विभिन्न स्थानमा रहेका कन्सल्टेन्सीहरूमा एकैसाथ छापा मारेको हो। प्रहरीका अनुसार कारबाहीमा परेका यी संस्थाहरूले प्रचलित कानुनी मापदण्डहरू पालना नगरेको पाइएको छ। उनीहरूले मुख्य गरी देहायका नियमहरूको उल्लङ्घन गरेका छन्: शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को पालना नगरेको। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा उल्लेखित मापदण्ड विपरीत कार्य गरेको। कन्सल्टेन्सी दर्ता नगरी र नवीकरण समेत नगराई अवैध रूपमा सञ्चालन गरेको। सरकारबाट इजाजत नलिई शैक्षिक परामर्श, भाषा शिक्षण र पूर्व तयारी कक्षाहरू सञ्चालन गरेको। अनुसन्धानका क्रममा यी संस्थाहरूले उच्च शिक्षाका लागि विदेश पठाइदिने प्रलोभन देखाई सर्वसाधारणबाट ठुलो रकम असुल गरी आर्थिक ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका ६९ जना सञ्चालकहरूलाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयोकाे छ। प्रहरीले यस्ता अवैध शैक्षिक परामर्श केन्द्रहरू वा कन्सल्टेन्सीहरूबाट ठगीमा परेका सम्पूर्ण पीडितहरूलाई यथाशिघ्र प्रमाणसहित टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क राख्न अनुरोध समेत गरेको छ।

नेपालको दूरसञ्चार क्षेत्रमा अहिलेसम्मकै ठुलो आर्थिक अनियमितता र सरकारी सम्पत्ति हिनामिनाको विषयमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो सक्रियता बढाएको छ। बिहीबार सीआईबीको टोलीले ललितपुरस्थित एनसेलको प्रधान कार्यालय पुगेर स्मार्ट टेलिकमको सम्पत्ति खरिद-बिक्रीसँग सम्बन्धित महत्त्वपूर्ण कागजात र प्रमाणहरू नियन्त्रणमा लिएको छ। के हो प्रकरण? स्मार्ट टेलिकमले सरकारलाई बुझाउनुपर्ने अर्बौँको नवीकरण दस्तुर र राजस्व बुझाउन नसकेपछि ३ वैशाख २०८० मा यसको लाइसेन्स स्वतः रद्द भएको थियो। कानुनी व्यवस्था अनुसार लाइसेन्स रद्द भएपछि कम्पनीको सम्पूर्ण पूर्वाधार र नेटवर्क नेपाल सरकार (नेपाल दूरसञ्चार प्राधिकरण) को नियन्त्रणमा रहने प्रावधान छ। तर, राज्यको स्वामित्वमा आइसकेको यो सम्पत्तिलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (NIMB) ले गैरकानुनी रूपमा लिलाम प्रक्रियामा लगेर एनसेललाई बिक्री गरेपछि यो प्रकरणले फौजदारी मोड लिएको हो। बैङ्क र कम्पनीका उच्च पदाधिकारी पक्राउ यस प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिइसकेको छ: सर्वेश जोशी: स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष, जसले कानुनी अधिकार नहुँदा नहुँदै सम्पत्ति लिलामीका लागि मञ्जुरीनामा दिएका थिए। ज्योतिप्रकाश पाण्डे: नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका सीईओ, जसलाई बुधबार नियन्त्रणमा लिइएको हो। पलिना श्रेष्ठ र नरेन्द्र उलाक: लिलामी प्रक्रियामा संलग्न अन्य दुई आरोपित। एनसेलको शङ्कास्पद भूमिका र 'भित्री सेटिङ' लिलामीका क्रममा एनसेलले स्मार्ट टेलिकमको पुराना उपकरणहरूका लागि ४ अर्ब ६० करोड रुपैयाँ कबोल गरेको थियो। अन्य दुई प्रतिस्पर्धीले करिब ४०-४४ करोड मात्र कबोल गरेको अवस्थामा एनसेलले १० गुणा बढी मूल्य हाल्नुलाई विज्ञहरूले 'भित्री सेटिङ' को संज्ञा दिएका छन्। स्मार्ट टेलिकमले सरकारलाई बुझाउनुपर्ने करिब ३० अर्ब रुपैयाँ (नवीकरण दस्तुरसहित) राजस्वलाई पन्छाएर केवल बैङ्कको ऋण तिर्न यो कृत्रिम कारोबार गरिएको सीआईबीको ठहर छ। पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको प्रतिवेदनले पनि स्मार्ट टेलिकम टाट पल्टाउने समूह र एनसेल खरिद गर्ने समूह (सतिसलाल आचार्य समूह) एउटै भएको र यो 'क्रस होल्डिङ' को गम्भीर उल्लंघन भएको औँल्याएको छ। प्राधिकरणको मौनतामाथि प्रश्न यस प्रकरणमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका पनि सन्देहास्पद देखिएको छ। आफ्नै नियन्त्रणमा रहेको सम्पत्ति लिलामी हुँदा महिनौँसम्म मूकदर्शक बनेको र सम्पत्ति बिक्री भइसकेपछि मात्र मूल्याङ्कन समिति गठन गर्ने नाटक गरेको भन्दै प्राधिकरण नेतृत्वमाथि पनि छानबिनको माग उठेको छ। सीआईबीले यसलाई संगठित अपराधको रूपमा व्याख्या गर्दै अनुसन्धानलाई थप सुक्ष्म बनाएको छ। सरकारी सम्पत्ति र अर्बौँको राजस्व जोगाउन यो अनुसन्धानले कुन मोड लिन्छ, त्यो भने हेर्न बाँकी छ।

कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले इन्धन र निर्माण सामग्रीमा भएको अनपेक्षित मूल्यवृद्धिका कारण निर्माण क्षेत्र धराशायी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल 'मूल्य समायोजन' र 'म्याद थप' नगरे प्रदेशभरका विकास निर्माणका काम ठप्प पार्ने चेतावनी दिएको हो। महासंघका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जना भएको इन्धन संकट र अन्तर्राष्ट्रिय बजारको प्रभावले डिजेल, पेट्रोल, मट्टितेलसँगै बिटुमिन, सिमेन्ट र फलामे डण्डीको मूल्य आकाशिएको छ। यसलाई महासंघले निर्माण क्षेत्रमा आएको 'सुनामी' को संज्ञा दिएको छ। इन्धन र कच्चा पदार्थको अभाव तथा मूल्यवृद्धिका कारण पुराना ठेक्काहरूमा काम अघि बढाउन नसकिने अवस्था सिर्जना भएको छ। बजारमा सामानको भाउ बढे पनि नेपाल राष्ट्र बैंकको मूल्य सूचकाङ्कले घटेको देखाउँदा ठेक्काको मूल्य समायोजनमा प्राविधिक समस्या उत्पन्न भएको व्यवसायीहरूको दाबी छ। सरकारले ठोस पहल नगर्दा यस क्षेत्रमा आश्रित लाखौँ श्रमिक र निर्माण उद्योगहरू बन्द हुने संघारमा पुगेका छन्। प्रत्येक आयोजनामा बजार भाउ अनुसार मूल्य मिलान गर्न 'मूल्य समायोजन मार्ग निर्देशिका–२' तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने। बैंक ग्यारेन्टी र बिमाको म्याद सहित सम्पूर्ण निर्माणाधीन आयोजनाहरूको समय थप गरिदिनुपर्ने। महासंघका महासचिव मानव बमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "राष्ट्रिय गौरवका आयोजनादेखि साना योजनासम्म सबै ठप्प छन्। सरकारले मौखिक आश्वासन मात्र दिएर हुँदैन, तत्काल राहत प्याकेज नदिए निर्माण उद्योग पूर्ण रूपमा धराशायी हुने निश्चित छ।" विकासको मेरुदण्ड मानिने निर्माण क्षेत्र नै संकटमा परेपछि कर्णालीका पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न हुनेमा भने थप अन्योल थपिएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमतीको वि#भ@त्स ह$त्या गरेका छन्। सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ का रूपमा परिचित ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको ह$त्या गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार राति १०:१० बजे घरायसी विवाद हुँदा कुमार थापाले श्रीमती ईश्वरीमाथि फलामको रडले गम्भीर प्र$हा$र गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृ$$त्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीमाथि र$ड प्र@हा$र गरी ह&त्या गर्ने आरोपी कुमार थापा (नेपाली ब्रो) लाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ। हाल उनलाई प्रहरी वृत्त बालाजुमा राखेर घटनाको सम्बन्धमा थप कानुनी कारबाही तथा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रधानमन्त्री र सचिवालयको नाम दुरुपयोग गरी कर्मचारीलाई धम्क्याउने र गैरकानुनी दबाब सिर्जना गर्ने जो-कोहीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कडा निर्देशन दिएको छ । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले यस्तो कदम चालेको हो । कार्यालयका प्रवक्ता हेमराज अर्यालले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कार्यालय विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादाविपरीत भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रहार गर्ने तथा धम्क्याउने कार्य पूर्णतः निन्दनीय र अक्षम्य भएको उल्लेख गरिएको छ । घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको प्रवक्ता अर्यालले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले कसैले प्रधानमन्त्री, उहाँको सचिवालय वा कार्यालयको नाम लिएर धम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यस्ता भ्रममा नपर्न सर्वसाधारण र कर्मचारीहरूलाई अपिल गरेको छ । यस्ता गतिविधि देखिएमा तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ । साथै, आगामी दिनमा हुनसक्ने सम्भावित दुरुपयोग र भ्रमबाट बच्नका लागि प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण गरेर मात्र काम कारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह र कर्मचारीहरूमा विशेष आग्रह गरिएको छ ।

फेवाताल क्षेत्रको जग्गा विवादमा आफ्नो नाम जोडिएपछि गृहमन्त्री सुधन गुरूङले औपचारिक स्पष्टीकरण दिएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरूङले आफ्नो सचिवालयमार्फत वास्तविकता सार्वजनिक गरेका हुन्। हर्क साम्पाङको प्रश्न र मन्त्रीको जवाफ अध्यक्ष साम्पाङले फेसबुकमार्फत गृहमन्त्रीलाई फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरी स्पष्ट जानकारी दिन आग्रह गरेका थिए। साम्पाङसँगको पुरानो आत्मीय सम्बन्धलाई स्मरण गर्दै मन्त्री गुरूङले सार्वजनिक पदमा आसिन व्यक्तिको हैसियतले नागरिकलाई जवाफ दिनु आफ्नो दायित्व भएको उल्लेख गरेका छन्। ८–१० वर्षअघिको लगानी र विवादको जड गृहमन्त्रीले सार्वजनिक गरेको जानकारी अनुसार, करिब ८–१० वर्षअघि उनीसहित तीन जना युवाहरूले पोखराको पर्यटन र ग्रामीण विकासलाई लक्षित गरी दुर्गम क्षेत्रमा लगानी सुरु गरेका थिए। मन्त्री गुरूङका अनुसार: भाडाको जग्गा: विवादमा मुछिएको जग्गा आफ्नै नाममा नभई भाडामा लिएर व्यावसायिक प्रयोजनका लागि काम अघि बढाइएको थियो। प्राविधिक अन्योल: सुरुमा सो जग्गा फेवातालको ६५ मिटर मापदण्डभित्र नपर्ने जानकारी दिइएको र लालपुर्जा समेत देखाइएको उनले बताएका छन्। परियोजना रोकिएको: पछि नगरपालिकाबाट उक्त जग्गा मापदण्डभित्रै पर्ने तथ्य खुलेपछि परियोजनाको काम रोकेर लगानी जोखिममा परेको उनले स्पष्ट पारेका छन्। 'हामी आफैं पीडित छौं' यस प्रक्रियामा आफूहरू नै ठगीमा परेको महसुस भए पनि अरूलाई दुःख नदिने उद्देश्यले अहिलेसम्म चुप बसेको मन्त्री गुरूङको भनाइ छ। अवैध ठहरिएको जग्गामा थप लगानी गर्नु र भाडा तिर्नु उपयुक्त नहुने भन्दै अब यस विषयमा कानुनी उपचार खोज्ने निर्णयमा पुगेको उनले जानकारी दिए। सञ्चारमाध्यमलाई आग्रह गृहमन्त्री गुरूङले तथ्य नबुझी हतारमा एकतर्फी समाचार प्रकाशन नगर्न सञ्चारमाध्यम र सरोकारवाला पक्षलाई आग्रह गरेका छन्। उनले यथार्थमा आधारित भएर जिम्मेवार ढंगले समाचार सम्प्रेषण गरिदिन समेत अनुरोध गरेका छन्।

पाकिस्तान । दक्षिणी बन्दरगाह सहर कराची मा परेको अविरल वर्षा र आँधीबेहरीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार भारी वर्षाका कारण पूर्वाधारमा क्षति पुग्दा विभिन्न स्थानमा दुर्घटना भएका हुन्। कराचीको बलदिया टाउन क्षेत्रमा पर्खाल ढल्दा ११ जनाको ज्यान गएको पुष्टि भएको छ। त्यस्तै कायद आबाद क्षेत्रमा घरको छत खस्दा एक दम्पतीको मृत्यु भएको छ भने अन्य स्थानमा थप ६ जनाले ज्यान गुमाएका छन्। कराचीका मेयर मुर्तजा वहाबले सहरमा तीव्र हावा सहितको वर्षा जारी रहेको बताउँदै सर्वसाधारणलाई आवश्यक नपरेसम्म बाहिर ननिस्कन आग्रह गरेका छन्। सहरका धेरै स्थानमा पानी जम्दा यातायात र दैनिक जनजीवन प्रभावित बनेको छ। यसैबीच, सिन्ध प्रान्तका अधिकारीहरूले उच्च सतर्कता अपनाइएको बताएका छन्। मौसम विभागले पश्चिमी मौसम प्रणालीको प्रभावका कारण बिहीबारसम्म थप वर्षा, हावा र आँधीबेहरीको सम्भावना रहेको जनाएको छ।

खोटाङको केपिलासगढी गाउँपालिकामा आज दिउँसो एक हेलिकोप्टर दुर्घटना भएको छ। बिरामी लिनका लागि आएको लुम्बिनी हेलिकोप्टरको एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो। घटनाको विवरण: केपिलासगढी गाउँपालिका-४ स्थित बाक्सिलाको थर्पु डाँडामा अवतरण गर्ने क्रममा हेलिकोप्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रत्यक्षदर्शीका अनुसार हेलिकोप्टर अवतरण हुनै लाग्दा सन्तुलन गुमाएर जमिनमा बजारिएको थियो। क्षतिको अवस्था: दुर्घटनामा परी एक जना स्थानीय व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेको एउटा खुट्टा भाँचिएको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको छ। घाइतेलाई तत्काल स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत नै काठमाडौँ पठाउने तयारी भइरहेको छ। दुर्घटनाका कारण हेलिकोप्टरको पंखा र अग्रभाग (ककपिट) मा ठूलो क्षति पुगेको छ। चालक दलका सदस्यहरू भने सुरक्षित रहेको बताइएको छ। उद्धार र अनुसन्धान: घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली पुगेर उद्धार कार्य गरिरहेका छन्। खराब मौसम वा प्राविधिक गडबडी के कारणले दुर्घटना भएको हो भन्नेबारे आधिकारिक निकायले अनुसन्धान सुरु गरिसकेको छ।

दुबई, ३ चैत (रासस/एपी) — मध्यपूर्वमा युद्धको अवस्था झन् तीव्र बन्दै गएको छ। यसैबीच संयुक्त अरब इमिरेट्सले केही समयका लागि विमान उडान स्थगित गरेको घोषणा गरेको थियो, जसलाई अवस्था सामान्य बन्दै गएपछि पुनः सञ्चालन गरिएको छ। मंगलबार बिहान दुबईमा विस्फोटका आवाज सुन्निएको थियो। देशका सुरक्षा बलहरूले इरानबाट प्रक्षेपण गरिएका मिसाइल र ड्रोनलाई अवरोध गर्ने प्रयास गरेका थिए। यस क्रममा एक ड्रोन आक्रमणका कारण इन्धन ट्यांकीमा आगलागी भएको बताइएको छ, तर मानवीय क्षति भने नभएको जानकारी दिइएको छ। यसैबीच, इजरायलले तेहरानमा “व्यापक हवाई आक्रमण” सुरु गरेको जनाएको छ। इरानले दुई चरणमा मिसाइल आक्रमण गरेपछि इजरायली सेनाले प्रतिआक्रमण गरेको हो। इजरायलका अनुसार टेल अविभ र गालिली समुद्र आसपास क्षेत्रमा केही रकेट खसे पनि कुनै घाइते भएको पुष्टि भएको छैन। लेबननमा पनि इरान समर्थित समूहहरूलाई लक्षित गर्दै आक्रमण बढाइएको छ। यस द्वन्द्वका कारण त्यहाँ १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। युद्धको असर अन्तर्राष्ट्रिय स्तरमा समेत देखिन थालेको छ। स्ट्रेट अफ होर्मुज क्षेत्रमा ढुवानी अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा समस्या उत्पन्न भएको छ। तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ, जसले ऊर्जा संकटको जोखिम बढाएको छ। अमेरिकी राष्ट्रपतिले केही देशहरूलाई स्ट्रेट अफ होर्मुजको सुरक्षाका लागि सहयोग गर्न आग्रह गरेका छन्, तर तत्काल ठोस प्रतिबद्धता भने प्राप्त भएको छैन। इरानका अनुसार यस द्वन्द्वमा हालसम्म १,३०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ। अबुधाबीमा भएको मिसाइल आक्रमणमा एक जनाको ज्यान गएको र दुई तेल पूर्वाधारमा आगलागी भएको रिपोर्ट सार्वजनिक भएको छ। यस घटनाक्रमले मध्यपूर्वमा क्षेत्रीय असुरक्षा, मानवीय संकट र ऊर्जा आपूर्ति चुनौतीलाई थप जटिल बनाएको विश्लेषकहरूले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकको डेस्कटप संस्करणमा आइतबार दिउँसोदेखि विश्वव्यापी रूपमा ठूलो प्राविधिक समस्या देखिएको छ । समस्याका कारण विश्वभरका लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन् । आइतबार दिउँसो करिब १:३० बजेदेखि फेसबुकको वेब तथा डेस्कटप संस्करणमा एक्कासि समस्या देखा परेको हो । प्रयोगकर्ताहरूका अनुसार अकाउन्ट आफैँ लगआउट हुने, फेसबुक पेजहरू नखुल्ने, र लगइन गर्न खोज्दा "Account Temporarily Unavailable" (खाता अस्थायी रूपमा उपलब्ध छैन) भन्ने सन्देश देखिने गरेको छ । कतिपय प्रयोगकर्ताले भने फेसबुक पेज लोड हुन निकै ढिलाइ भएको र लगइन गर्नै नसकिएको गुनासो गरेका छन् । वेबसाइटहरूको सेवा अवरोध र अवस्थाबारे जानकारी दिने अन्तर्राष्ट्रिय संस्था 'डाउन डिटेक्टर' (Downdetector) मा पनि छोटो समयमै ठूलो संख्यामा प्रयोगकर्ताहरूले फेसबुक डाउन भएको रिपोर्ट दर्ता गराएका छन् । यस विश्वव्यापी प्राविधिक समस्याका बारेमा फेसबुकको मातृ कम्पनी मेटा (Meta) ले अहिलेसम्म कुनै आधिकारिक धारणा वा कारण सार्वजनिक गरेको छैन । यद्यपि, कम्पनीले समस्या समाधानका लागि प्राविधिक काम गरिरहेको अनुमान गरिएको छ । प्राविधिकहरूले समस्या पूर्ण रूपमा समाधान नभएसम्म प्रयोगकर्ताहरूलाई केही समय धैर्य गर्न र बारम्बार लगइनको प्रयास नगर्न सुझाव दिएका छन् ।

सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको हो। बैठकले प्रशासनिक र विकास निर्माणका क्षेत्रमा अन्य थुप्रै महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ, जसको विस्तृत विवरण यस प्रकार छ: निजामती सेवा नियमावली स्वीकृत मन्त्रिपरिषद् बैठकले प्रशासनिक संयन्त्रलाई थप व्यवस्थित र परिमार्जित बनाउनका लागि ‘निजामती सेवा १६औँ संसदीय नियमावली २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। यस नियमावलीको स्वीकृतिसँगै निजामती सेवाको कार्यसम्पादन र संसदीय प्रक्रियागत व्यवस्थापनमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। चार जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोगको अनुमति देशको ऊर्जा क्षेत्रको विकासलाई गति दिन सरकारले महत्त्वपूर्ण कदम चालेको छ। जलविद्युत् विकासका लागि अत्यावश्यक मानिएका चारवटा ठूला आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ। वन क्षेत्र प्रयोगको अनुमति पाउने आयोजनाहरूमा निम्न रहेका छन्: तल्लो अरुण जलविद्युत् आयोजना तल्लो न्यादी खोला जलविद्युत् आयोजना भुन्छा खोला जलविद्युत् आयोजना तादी खोला जलविद्युत् आयोजना यो स्वीकृतिसँगै लामो समयदेखि वन क्षेत्रको प्रक्रियामा अल्झिएका यी आयोजनाहरूको निर्माण कार्य अब द्रुत गतिमा अघि बढ्ने मार्गप्रशस्त भएको छ। नेपाल रेडक्रस सोसाइटीमा तदर्थ समिति गठन यसैगरी, सरकारले मानवीय सेवाको क्षेत्रमा क्रियाशील संस्था नेपाल रेडक्रस सोसाइटीको कार्यसमितिलाई नयाँ गति दिन तदर्थ समिति गठन गरेको छ। विशाल कुमार भण्डारी (दोलखा) को अध्यक्षतामा ९ सदस्यीय नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यस समितिले रेडक्रसको आगामी निर्वाचन र दैनिक प्रशासनिक कार्यहरूलाई अगाडि बढाउनेछ।

राजधानीको सबैभन्दा पुरानो र भरपर्दो सरकारी अस्पताल, वीर अस्पताल अहिले एक कर्मचारीको बदमासीका कारण संकटमा परेको छ। अस्पतालका लेखा अधिकृत वीर सिंह राईमाथि ५ प्रतिशत कमिसन नदिए सेवा नै बन्द गराउने खेलमा लागेको गम्भीर आरोप लागेको छ। स्रोतका अनुसार, लेखा अधिकृत राईले खरिद प्रक्रियाका कागजातमा हस्ताक्षर गर्नुअघि व्यापारीहरूसँग अनिवार्य रूपमा ५ प्रतिशत कमिसनको माग गर्ने गरेका छन्। उच्च पदस्थ अधिकारीहरूसँग आफ्नो 'सेटिङ' रहेको दाबी गर्दै उनले कमिसन नजुट्दा अर्बौँ रुपैयाँको भुक्तानी समेत रोकिदिएका छन्। यसको सिधा असर सर्वसाधारण बिरामीमाथि परेको छ। अस्पतालमा सिटी स्क्यान र रगत परीक्षण जस्ता आकस्मिक र अत्यावश्यक सेवाहरू अहिले पूर्ण रूपमा अवरुद्ध भएका छन्। टाढा-टाढाबाट पैसा तिरेर उपचार गराउन आएका बिरामी र तिनका कुरुवाहरू अस्पताल परिसरमै आक्रोशित बनेका छन्। आरोप यतिमा मात्र सीमित छैन। राईले अस्पतालका करार कर्मचारीहरूसँग समेत घुस माग्ने गरेको, र आफ्नो विरोध गर्ने कर्मचारीहरूको तलब रोकेर मानसिक तनाव दिने गरेको गुनासो बढेको छ। अहिले आक्रोशित सयौँ कर्मचारीहरूले राई विरुद्ध प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयमा छानबिन र कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन्। उजुरी परेलगत्तै अख्तियार र सतर्कता केन्द्रले यस विषयमा आफ्नो अनुसन्धान तीव्र बनाएका छन्। एउटा कर्मचारीको कमिसन मोहका कारण सर्वसाधारणको स्वास्थ्यमाथि भएको यो खेलबाडप्रति सर्वत्र चिन्ता र आक्रोश व्यक्त गरिएको छ।

काठमाडौँ महानगरपालिका र केन्द्र सरकारको समन्वयमा राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा रहेका अवैध संरचना हटाउने अभियान तीव्र पारिएको छ। शनिबार बिहान थापाथलीबाट सुरु भएको डोजर चलाउने कार्य दिउँसो गैह्रीगाउँ पुगेको छ। थापाथलिकाे सुकुम्बासी बस्ती हटाएपछि टोलीले दिउँसो गैह्रीगाउँमा रहेका अवैध टहरा र संरचनाहरू भत्काउन सुरु गरेको छ। थापाथलि बस्तीबाट हटाइएका र घरबारविहीन भएका ६ परिवारका सदस्यहरूलाई सरकारले तत्कालका लागि दशरथ रङ्गशालामा स्थानान्तरण गरेको छ। सम्भावित झडप र अवरोधलाई मध्यनजर गर्दै थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले बस्ती भत्काउनु अघि स्थानीयलाई सामान सार्न सहयोग गरेका थिए। स्वेच्छाले हट्न चाहनेहरूलाई महानगर र नेपाल प्रहरीले सवारी साधनको व्यवस्था गरी गन्तव्यसम्म पुर्याउन मद्दत समेत गरेका छन्। सरकारको चेतावनी केन्द्र सरकार र महानगरबीचको विशेष समन्वयमा यो अभियान चालिएको हो। सूचना जारी गर्दा पनि अटेर गरी नहट्नेहरूको संरचना बलपूर्वक भत्काइने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुनुपर्ने चेतावनी प्रशासनले दिएको छ।

एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरूका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ। विद्यार्थीहरूलाई डिजिटल संसारसँग जोड्दै सस्तो दरमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले यो अफर सार्वजनिक गरेको हो। यस अफर अन्तर्गत विद्यार्थीहरूले करसहित मात्र रु. ५० मा आफ्नो रुचि अनुसारको मोबाइल नम्बर छनोट गरी सिम लिन सक्नेछन्। सिम सुचारु गर्दा विद्यार्थीहरूले तत्कालै निम्न सुविधाहरू प्राप्त गर्नेछन्: २ जीबी डाटा र ५० मिनेट सबै नेटवर्कमा कल गर्न मिल्ने टक टाइम। डिजिटल लर्निङ, (२८ दिनका लागि 'मेरो स्कुल' प्लेटफर्ममा निःशुल्क पहुँच, जहाँ पाठ्यक्रममा आधारित शैक्षिक भिडियोहरू उपलब्ध छन्। २८ दिनका लागि गेमिङ प्रिमियर लिग (जीपीएल) मा निःशुल्क पहुँच। डिजिटल वालेट 'खल्ती' प्रयोग गर्दा कुनै डाटा शुल्क नलाग्ने। थप बोनस अफर सिम लिएका ग्राहकले रु. ५० वा सोभन्दा बढीको रिचार्ज गर्दा थप फाइदा लिन सक्नेछन्। प्रत्येक रिचार्जमा ७ दिनका लागि ५०० एमबी बोनस डाटा समेत उपलब्ध हुने एनसेलले जनाएको छ। एसईई दिएका विद्यार्थीहरूले यो सिम लिनका लागि देशभरका कुनै पनि एनसेल सेन्टरमा जान सक्नेछन्। सिमका लागि निम्न कागजातहरू आवश्यक पर्नेछन्: १. विद्यार्थीको एसईई प्रवेशपत्र (Admit Card) को प्रतिलिपि। २. आमा वा बुवाको नागरिकताको फोटोकपी। ३. एक प्रति पासपोर्ट साइजको फोटो। आवश्यक प्रमाणीकरणपछि सिम तुरुन्तै सक्रिय हुनेछ। एनसेलले यो योजनाले विद्यार्थीहरूलाई आफ्ना साथीभाइ र परिवारसँग सम्पर्कमा रहन र अनलाइन माध्यमबाट नयाँ कुरा सिक्न मद्दत पुग्ने विश्वास लिएको छ।