
सामाजिक सञ्जाल फेसबुकको डेस्कटप संस्करणमा आइतबार दिउँसोदेखि विश्वव्यापी रूपमा ठूलो प्राविधिक समस्या देखिएको छ । समस्याका कारण विश्वभरका लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन् ।
आइतबार दिउँसो करिब १:३० बजेदेखि फेसबुकको वेब तथा डेस्कटप संस्करणमा एक्कासि समस्या देखा परेको हो । प्रयोगकर्ताहरूका अनुसार अकाउन्ट आफैँ लगआउट हुने, फेसबुक पेजहरू नखुल्ने, र लगइन गर्न खोज्दा "Account Temporarily Unavailable" (खाता अस्थायी रूपमा उपलब्ध छैन) भन्ने सन्देश देखिने गरेको छ । कतिपय प्रयोगकर्ताले भने फेसबुक पेज लोड हुन निकै ढिलाइ भएको र लगइन गर्नै नसकिएको गुनासो गरेका छन् ।
वेबसाइटहरूको सेवा अवरोध र अवस्थाबारे जानकारी दिने अन्तर्राष्ट्रिय संस्था 'डाउन डिटेक्टर' (Downdetector) मा पनि छोटो समयमै ठूलो संख्यामा प्रयोगकर्ताहरूले फेसबुक डाउन भएको रिपोर्ट दर्ता गराएका छन् ।
यस विश्वव्यापी प्राविधिक समस्याका बारेमा फेसबुकको मातृ कम्पनी मेटा (Meta) ले अहिलेसम्म कुनै आधिकारिक धारणा वा कारण सार्वजनिक गरेको छैन । यद्यपि, कम्पनीले समस्या समाधानका लागि प्राविधिक काम गरिरहेको अनुमान गरिएको छ । प्राविधिकहरूले समस्या पूर्ण रूपमा समाधान नभएसम्म प्रयोगकर्ताहरूलाई केही समय धैर्य गर्न र बारम्बार लगइनको प्रयास नगर्न सुझाव दिएका छन् ।



