
काठमाडौँ महानगरपालिका र केन्द्र सरकारको समन्वयमा राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा रहेका अवैध संरचना हटाउने अभियान तीव्र पारिएको छ। शनिबार बिहान थापाथलीबाट सुरु भएको डोजर चलाउने कार्य दिउँसो गैह्रीगाउँ पुगेको छ।
थापाथलिकाे सुकुम्बासी बस्ती हटाएपछि टोलीले दिउँसो गैह्रीगाउँमा रहेका अवैध टहरा र संरचनाहरू भत्काउन सुरु गरेको छ।
थापाथलि बस्तीबाट हटाइएका र घरबारविहीन भएका ६ परिवारका सदस्यहरूलाई सरकारले तत्कालका लागि दशरथ रङ्गशालामा स्थानान्तरण गरेको छ।
सम्भावित झडप र अवरोधलाई मध्यनजर गर्दै थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ।
सुरक्षाकर्मीहरूले बस्ती भत्काउनु अघि स्थानीयलाई सामान सार्न सहयोग गरेका थिए। स्वेच्छाले हट्न चाहनेहरूलाई महानगर र नेपाल प्रहरीले सवारी साधनको व्यवस्था गरी गन्तव्यसम्म पुर्याउन मद्दत समेत गरेका छन्।
सरकारको चेतावनी
केन्द्र सरकार र महानगरबीचको विशेष समन्वयमा यो अभियान चालिएको हो। सूचना जारी गर्दा पनि अटेर गरी नहट्नेहरूको संरचना बलपूर्वक भत्काइने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुनुपर्ने चेतावनी प्रशासनले दिएको छ।



