
सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज (आइतबार) र भोलि (सोमबार) देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई दिने यस अभियानमा ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने लक्ष्य राखिएको छ।
अभियानका मुख्य बुँदाहरू:
भिटामिन ‘ए’: ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई।
जुकाको औषधि (अल्बेन्डाजोल): १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई।
जनशक्ति परिचालन: देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी खटिएका छन्।
स्थानिय तहले तोकेका नजिकैका खोप केन्द्र वा वडा कार्यालयमा भिटामिन A र जुकाकाे अाैषधि खुवाउने भयकाे छ । भिटामिन ‘ए’ र जुकाको औषधि?
स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको आँखाको ज्योति बलियो बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता र शारीरिक विकासमा मद्दत पुर्याउँछ।
त्यस्तै, जुकाको औषधिले पेटको किरा फाल्ने मात्र नभई बालबालिकालाई कुपोषण, रक्तअल्पता (रगतको कमी), पेट दुख्ने र झाडापखाला जस्ता स्वास्थ्य समस्याबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
नेपालमा भिटामिन ‘ए’ कार्यक्रम वि.सं. २०५० देखि आठ जिल्लाबाट सुरु भई २०५९ देखि देशभर विस्तार गरिएको थियो। जुकाको औषधि खुवाउने अभियान भने २०५६ मा सुरु भई २०६७ सालदेखि ७७ वटै जिल्लामा लागू गरिएको हो। सरकारले प्रत्येक वर्षको कात्तिक र वैशाख महिनामा यो सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ।
आफ्ना बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकलाई अनुरोध गरेको छ।



