
सुर्खेत, ७ बैशाख । हुम्ला र कालीकोटमा स्वास्थ्य अवस्था जटिल बनेका दुई जना सुत्केरी महिलाको आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई उद्धार गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनीहरूलाई थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको हो।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीको घरमै सुत्केरी भएको समयमा साल नझरेपछि (अड्किएर) अत्यधिक रक्तस्राव भएको थियो। रक्तस्रावका कारण उनको अवस्था चिन्ताजनक बनेपछि निमित्त प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दको समन्वयमा हवाई उद्धार गरी सुर्खेत पठाइएको हो।
त्यस्तै, कालीकोटको पलाँता गाउँपालिका थिर्पूकी २२ वर्षीया अप्सरा शाहीलाई पनि जिल्ला अस्पताल मान्मबाट रिफर गरी सुर्खेत ल्याइएको छ। शनिबार साँझदेखि सुत्केरी व्यथा लागेकी शाहीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि चिकित्सकले आईसीयु सेवा आवश्यक रहेको बताएका थिए।
जिल्ला अस्पताल कालीकोटका डा. शुभनारायण ठाकुरका अनुसार अप्सराको गर्भमै शिशुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। जनस्वास्थ्य अधिकृत कटक महतले अत्यधिक रक्तस्रावका कारण आमाको ज्यान जोखिममा रहेकाले तत्कालै सुर्खेत पठाइएको जानकारी दिए।
राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोग
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै आएको छ। सोही कार्यक्रम अन्तर्गत यी दुवै महिलाको निःशुल्क हवाई उद्धार गरिएको हो।
हाल दुवै जनाको कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।



