
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
चालकसहित १८ जना सवार उक्त बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते र २ जना सकुशल रहेका छन्।
जाजरकोटका निर्जुङ खत्रीको पहिचान, ५ जनाको विवरण खुल्न बाँकी
दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन्। अन्य मृतक ५ जनाको भने नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।
घाइतेहरूको मध्यविन्दु अस्पतालमा उपचार
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाएको छ।
घाइतेहरूको विवरण:
१. हरिशरण थापा (वर्ष ३०) – गोरखा नगरपालिका–९, गोरखा
२. तेजेन्द्र प्रसाद भण्डारी (वर्ष २८) – मंगलसेन नगरपालिका–६, अछाम
३. आकृती (वर्ष २०) – ठाकुरबाबा नगरपालिका–१, बर्दिया
४. पवन बुढा (वर्ष ३२) – स्वामी कात्तिक गाउँपालिका–५, बाजुरा
५. सञ्जय थारु (वर्ष २८) – राजापुर नगरपालिका–९, बर्दिया
६. प्रेम बम (वर्ष २५) – स्वामी कात्तिक गाउँपालिका–१, बाजुरा
७. अनोज खत्री (वर्ष २९) – कुञ्जय सोमपाक गाउँपालिका–५, ललितपुर
८. लाल बहादुर कार्की (वर्ष ३६) – बाँसगढी नगरपालिका–७, बर्दिया
९. अस्लाम भगवान (वर्ष ४८) – नेपालगञ्ज उपमहानगरपालिका–१६, बाँके
१०. अनिल बुढाथोकी (वर्ष २१) – वनगढ कुपिण्डे नगरपालिका–१, सल्यान
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


