
प्रधानमन्त्री र सचिवालयको नाम दुरुपयोग गरी कर्मचारीलाई धम्क्याउने र गैरकानुनी दबाब सिर्जना गर्ने जो-कोहीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कडा निर्देशन दिएको छ ।
दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले यस्तो कदम चालेको हो । कार्यालयका प्रवक्ता हेमराज अर्यालले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कार्यालय
विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादाविपरीत भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रहार गर्ने तथा धम्क्याउने कार्य पूर्णतः निन्दनीय र अक्षम्य भएको उल्लेख गरिएको छ ।
घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको प्रवक्ता अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयले कसैले प्रधानमन्त्री, उहाँको सचिवालय वा कार्यालयको नाम लिएर धम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यस्ता भ्रममा नपर्न सर्वसाधारण र कर्मचारीहरूलाई अपिल गरेको छ । यस्ता गतिविधि देखिएमा तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।
साथै, आगामी दिनमा हुनसक्ने सम्भावित दुरुपयोग र भ्रमबाट बच्नका लागि प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण गरेर मात्र काम कारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह र कर्मचारीहरूमा विशेष आग्रह गरिएको छ ।


