
दैलेख/सुर्खेत — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ खाडामा सर्पको टोकाइ (शङ्कास्पद) बाट एकै परिवारका आमा-छोराको मृत्यु भएको छ।
गम्भीर घाइते भई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचाररत २७ वर्षीया कमला रावलको मङ्गलबार (साउन ६ गते) बिहान ६:२५ बजे मृत्यु भएको हो। यसअघि उनका ९ वर्षीय छोरा आयुष रावलको साउन ४ गते नै उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको थियो।
भुइँमा सुतेका बेला डसेको आशङ्का
प्रहरीका अनुसार साउन ३ गते राति घरको माथिल्लो तलाको कोठामा भुइँमा ओछ्यान लगाएर आमा-छोरा सुतेका थिए। साउन ४ गते बिहान उठ्दा दुवै जनालाई रिङ्गाटा लाग्ने र शरीर झमझमाउने जस्ता स्वास्थ्य समस्या देखिएका थिए।
लक्षण देखिएलगत्तै दुवै जनालाई उपचारका लागि स्थानीय शाही मेडिकल साङ्गेतारा लैजाँदै गर्दा बालक आयुष रावलको साउन ४ गते बिहान ९:०० बजे बाटोमै मृत्यु भएको शाही मेडिकलले घोषणा गरेको थियो।
सुर्खेतमा उपचारका क्रममा आमाको पनि निधन
बालकको मृत्युपछि गम्भीर अस्वस्थ रहेकी कमला रावललाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको थियो। जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत रिफर गरिएको थियो।
चिकित्सकहरूले लक्षणका आधारमा सर्पले डसेको हुन सक्ने आकलन गरेका थिए। प्रदेश अस्पताल सुर्खेत पुर्याएर भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा उपचारकै क्रममा साउन ६ गते बिहान कमलाको पनि ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीद्वारा अनुसन्धान जारी
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज पौडेलको कमाण्डमा ५ जनाको टोली, प्रहरी चौकी जम्बुकाधबाट प्रहरी सहायक निरीक्षक दमन कठायतको कमाण्डमा २ जना र प्रहरी चौकी पालतडाबाट प्रहरी सहायक हवल्दार भरत बुढाथोकीको कमाण्डमा २ जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरी टोली घटनास्थल पुग्दा मृतक बालकको शव बुवा बखत रावलले घाटमा लगेर दाहसंस्कार गरिसकेको पाइएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


