
पाकिस्तान । दक्षिणी बन्दरगाह सहर कराची मा परेको अविरल वर्षा र आँधीबेहरीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार भारी वर्षाका कारण पूर्वाधारमा क्षति पुग्दा विभिन्न स्थानमा दुर्घटना भएका हुन्। कराचीको बलदिया टाउन क्षेत्रमा पर्खाल ढल्दा ११ जनाको ज्यान गएको पुष्टि भएको छ। त्यस्तै कायद आबाद क्षेत्रमा घरको छत खस्दा एक दम्पतीको मृत्यु भएको छ भने अन्य स्थानमा थप ६ जनाले ज्यान गुमाएका छन्।
कराचीका मेयर मुर्तजा वहाबले सहरमा तीव्र हावा सहितको वर्षा जारी रहेको बताउँदै सर्वसाधारणलाई आवश्यक नपरेसम्म बाहिर ननिस्कन आग्रह गरेका छन्। सहरका धेरै स्थानमा पानी जम्दा यातायात र दैनिक जनजीवन प्रभावित बनेको छ।
यसैबीच, सिन्ध प्रान्तका अधिकारीहरूले उच्च सतर्कता अपनाइएको बताएका छन्। मौसम विभागले पश्चिमी मौसम प्रणालीको प्रभावका कारण बिहीबारसम्म थप वर्षा, हावा र आँधीबेहरीको सम्भावना रहेको जनाएको छ।


