
दुबई, ३ चैत (रासस/एपी) — मध्यपूर्वमा युद्धको अवस्था झन् तीव्र बन्दै गएको छ। यसैबीच संयुक्त अरब इमिरेट्सले केही समयका लागि विमान उडान स्थगित गरेको घोषणा गरेको थियो, जसलाई अवस्था सामान्य बन्दै गएपछि पुनः सञ्चालन गरिएको छ।
मंगलबार बिहान दुबईमा विस्फोटका आवाज सुन्निएको थियो। देशका सुरक्षा बलहरूले इरानबाट प्रक्षेपण गरिएका मिसाइल र ड्रोनलाई अवरोध गर्ने प्रयास गरेका थिए। यस क्रममा एक ड्रोन आक्रमणका कारण इन्धन ट्यांकीमा आगलागी भएको बताइएको छ, तर मानवीय क्षति भने नभएको जानकारी दिइएको छ।
यसैबीच, इजरायलले तेहरानमा “व्यापक हवाई आक्रमण” सुरु गरेको जनाएको छ। इरानले दुई चरणमा मिसाइल आक्रमण गरेपछि इजरायली सेनाले प्रतिआक्रमण गरेको हो। इजरायलका अनुसार टेल अविभ र गालिली समुद्र आसपास क्षेत्रमा केही रकेट खसे पनि कुनै घाइते भएको पुष्टि भएको छैन।
लेबननमा पनि इरान समर्थित समूहहरूलाई लक्षित गर्दै आक्रमण बढाइएको छ। यस द्वन्द्वका कारण त्यहाँ १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
युद्धको असर अन्तर्राष्ट्रिय स्तरमा समेत देखिन थालेको छ। स्ट्रेट अफ होर्मुज क्षेत्रमा ढुवानी अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा समस्या उत्पन्न भएको छ। तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ, जसले ऊर्जा संकटको जोखिम बढाएको छ।
अमेरिकी राष्ट्रपतिले केही देशहरूलाई स्ट्रेट अफ होर्मुजको सुरक्षाका लागि सहयोग गर्न आग्रह गरेका छन्, तर तत्काल ठोस प्रतिबद्धता भने प्राप्त भएको छैन।
इरानका अनुसार यस द्वन्द्वमा हालसम्म १,३०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ। अबुधाबीमा भएको मिसाइल आक्रमणमा एक जनाको ज्यान गएको र दुई तेल पूर्वाधारमा आगलागी भएको रिपोर्ट सार्वजनिक भएको छ।
यस घटनाक्रमले मध्यपूर्वमा क्षेत्रीय असुरक्षा, मानवीय संकट र ऊर्जा आपूर्ति चुनौतीलाई थप जटिल बनाएको विश्लेषकहरूले बताएका छन्।


