
सुर्खेत, ३ साउन ।
सुर्खेतको वीरेन्द्रनगरबाट तीन दिनदेखि बेपत्ता भएका एक वृद्ध जंगलमा मृत फेला परेका छन्।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ दौलतपुर बस्ने ६७ वर्षीय लालबहादुर सुनार यही असार ३२ गते बिहान ८:०० बजेदेखि घरपरिवारलाई कुनै जानकारी नदिई निस्किएका थिए। निज घर नफर्किएपछि आफन्त र प्रहरीले उनको खोजी कार्य तीव्र पारेका थिए।
खोजी गर्ने क्रममा आज साउन ३ गते दिउँसो १२:२० बजेको समयमा वीरेन्द्रनगर-२ स्थित निकासखोलाको जंगलमा सुनार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) टीकाराम थापाको कमाण्डमा खटिएको टोली र आफन्तजनले संयुक्त रूपमा खोजतलास गर्दा उनलाई फेला पारेका थिए।
घटनास्थलमा सुनारलाई झुण्डिएको (आत्महत्या गरेको) अवस्थामा फेला पारेपछि टोलीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी गराएको थियो। लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (प्रनि) दीपक मगराठीको कमाण्डमा सोको (SOCO - Scene of Crime Officer) सहित ५ जनाको विशेष प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का संकलन गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

