
सुर्खेत, साउन ६ ।
सुर्खेतको लेकबेशी नगरपालिकामा निर्माणाधीन एक विद्यालयको सभाहलमा काम गर्ने क्रममा करेन्ट लागेर एक जना युवक घाइते भएका छन्।
घाइते हुनेमा जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. २ फलाटे बस्ने ३० वर्षीय कृष्ण बुढा रहेका छन्।
इलाका प्रहरी कार्यालय लेकबेशीका अनुसार मङ्गलवार (साउन ६ गते) साँझ करिब ७:०० बजेको समयमा लेकबेशी नगरपालिका–४ दशरथपुरस्थित श्री जीवनज्योति माध्यमिक विद्यालयको निर्माणाधीन सभाहलको छानामुनि प्लाइबोर्डमा ग्राइन्डर मेसिनले ठोकछाक गर्ने क्रममा बुढालाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेपछि भवनबाट तल खस्दा उनी घाइते भएका हुन्।
घाइते बुढाको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको र हाल सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलको अवस्था र घाइतेको उपचारमा ठेकेदार सुरज थापा संलग्न रहेको प्रहरीले जनाएको छ।


