
सुर्खेत, भदौ २८ ।
सुर्खेतको लेकवेशी नगरपालिका–१० झुुप्रास्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय लेकवेशीका अनुसार भदौ २७ गते बिहान ११:४५ बजे लेकवेशीबाट भुतचोकसतर्फ जाँदै गरेको भे ६ प ४५३ नम्बरको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो। मोटरसाइकल १७ वर्षीय मनोज आचार्यले चलाएका थिए।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी वीरेन्द्रनगर नगरपालिका–१० बरीपाटीकी आशा बुढालाई तत्काल उपचारका लागि माया नर्सिङ होम अस्पताल पुर्याइएको थियो। बाहिरी चोट नदेखिए पनि शरीरमा भित्री चोट लागेर अचेत भएकी उनलाई थप उपचारका लागि भदौ २७ गते दिउँसो १२:३० बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। त्यहाँबाट पनि थप उपचारका लागि १:३० बजे नेपालगन्जस्थित नर्सिङ होम रिफर गरिएको थियो।
उपचारकै क्रममा भदौ २८ गते दिउँसो १२:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी सहायक निरीक्षक (प्रसनि) रामराज चौधरीको कमाण्डमा ट्राफिकसहितको ३ जनाको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो। ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय लेकवेशी र चालकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ।

