
कञ्चनपुर, १५ असोज — महाकाली नदीमा आएको भीषण बाढीका कारण कञ्चनपुरस्थित एसियाकै लामोमध्येको एक मानिने प्रसिद्ध दोधारा-चाँदनी झोलुङ्गे पुलमा गम्भीर क्षति पुगेको छ। बाढीको तीव्र बहावका कारण पुलको एउटा टावर भाँच्चिएर एक भाग नदीमा खसेको हो।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार आज बिहान करिब ८ बजेतिर पुलको एक भाग भत्किएर नदीमा खसेको थियो। बिहान ४-५ बजेतिर नै पुलको उक्त भाग अस्वाभाविक रूपमा माथि उठेको स्थानीयले देखेका थिए। त्यसको केही घण्टामै टावर भाँच्चिएपछि पुलको बीचको भाग नदीमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौँ नम्बर र दोधारा-चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएर नदीमा बगेको छ।
प्रत्यक्ष सम्पर्क विच्छेद, पक्की पुल प्रयोग गर्नुपर्ने अवस्था
पुलको बीचको भाग भत्किएसँगै भीमदत्त नगरपालिका र दोधारा-चाँदनी नगरपालिकाबीचको प्रत्यक्ष आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। स्थानीय सर्वसाधारण तथा पैदलयात्रीहरूका लागि आवतजावतका लागि अब करिब दुई किलोमिटर माथि रहेको पक्की पुल प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
प्रदेश सरकारद्वारा प्राविधिक टोली पठाउने तयारी
घटनालगत्तै सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले क्षतिको अध्ययन थालेको छ। निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार पुलमा पुगेको क्षतिको विस्तृत अध्ययन तथा निरीक्षणका लागि प्राविधिक टोली खटाउने तयारी भइरहेको छ।
"प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि मात्रै क्षतिको यकिन विवरण र पुनर्मार्ग निर्माण वा मर्मतबारे आधिकारिक जानकारी आउनेछ," निर्देशक जोशीले भने।
झोलुङ्गे पुलको पृष्ठभूमि:
वि.सं. २०६१ (सन् २००४) मा निर्माण सम्पन्न भएको १४५२.९६ मिटर लामो यो झोलुङ्गे पुललाई नेपालकै सबैभन्दा लामो र पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण मानिँदै आइएको छ। यस पुलले दोधारा-चाँदनीका बासिन्दालाई मूलधारसँग जोड्न लामो समयदेखि मुख्य भूमिका खेल्दै आएको थियो।



