
surkhet/काठमाडौँ।
नेकपा एमाले कर्णाली प्रदेशका प्रभावशाली युवा नेता एवम् सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का लोकप्रिय वडाध्यक्ष विनोदसिंह विष्टले पार्टीको साधारण सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामाको घोषणा गर्नुभएको छ।
विद्यार्थी राजनीति (अखिल) बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका विष्ट कर्णालीलाई ६ नम्बर प्रदेशको रूपमा अखण्ड राख्न र वीरेन्द्रनगरलाई प्रादेशिक राजधानी बनाउन भएका ऐतिहासिक जनआन्दोलनहरूमा अग्रणी भूमिका निर्वाह गर्ने जुझारु नेता हुनुहुन्छ। पार्टी निर्माण र सङ्गठन विस्तारमा निरन्तर खट्दै आउनुभएका उहाँले विभिन्न समयमा राजनीतिक आरोप-प्रत्यारोप, आलोचना र थुना (जेल) समेत झेल्नुपरेको थियो। तर, अदालतबाट सफाइ पाएपछि पुनः जनताको सेवा र राजनीतिमा उत्तिकै सक्रिय रहँदै आउनुभएको थियो।
राजनीतिक उतारचढावकै बीच २०७९ को स्थानीय निर्वाचनमा उहाँले वीरेन्द्रनगर वडा नं. ३ बाट ऐतिहासिक जित हासिल गर्नुभएको थियो। नेपाली कांग्रेसको बलियो पकड र वडाका चारै जना सदस्य कांग्रेसबाटै निर्वाचित भएको प्रतिकूल स्थितिमा पनि विष्टले आफ्नो व्यक्तिगत लोकप्रियता र जनविश्वासकै बलमा वडाध्यक्ष पदमा बाजी मार्नुभएको थियो।
पार्टी शीर्ष नेतृत्वको कार्यशैली, राष्ट्रिय तथा स्थानीय स्तरमा बढ्दो अलोकप्रियता र जनताका मुद्दामा पार्टीले ठोस नेतृत्वदायी भूमिका खेल्न नसकेको गम्भीर आरोप लगाउँदै उहाँले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुभएको हो।
हाल स्वास्थ्य उपचारका क्रममा काठमाडौँमा रहनुभएका विष्टले 'भित्रीकुरा मिडिया'सँगको फोन संवादमा शनिबार पत्रकार सम्मेलन आयोजना गरी आफ्ना भावी कदम र पार्टी छाड्नुका विस्तृत कारणहरू सार्वजनिक गर्ने जानकारी दिनुभएको छ।
लामो समयदेखि पार्टीमा योगदान दिएका र जनस्तरमा दह्रो पकड बनाएका विष्टको राजीनामाले वीरेन्द्रनगर र सिङ्गो कर्णाली एमाले वृत्तमा ठूलो राजनीतिक तरङ्ग ल्याइदिएको छ। यद्यपि, उहाँको राजीनामाका सम्बन्धमा नेकपा एमालेको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी नै छ।



