
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफको दौडमा आफूलाई जीवितै राखेको छ। शेर मल्लको धारिलो बलिङ र अस्ट्रेलियन ब्याट्सम्यान डी'आरसी शर्टको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले लुम्बिनीले महत्वपूर्ण जित दर्ता गर्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको हो। यो जितसँगै लुम्बिनीले प्लेअफमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ, तर त्यसका लागि उसले आफ्नो अन्तिम लिग खेलमा जनकपुर बोल्ट्सलाई हराउनै पर्नेछ।
विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा नायक बनेका डी'आरसी शर्टले प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको सानदार पारी खेले। राम्रो सुरुवात गरे पनि सुवास भण्डारीले एकै ओभरमा सुमित महर्जन (१०) र कप्तान रोहित पौडेल (०) लाई आउट गरेपछि लुम्बिनी केही दबाबमा आएको थियो। तर, सन्दीप जोराले २४ तथा निरोशन डिकवेलाले अविजित २९ रनको योगदान दिँदै टोलीलाई जितसम्म डोर्याए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। लुम्बिनीका बलरहरूले कसिलो प्रदर्शन गर्दै विराटनगरका स्टार खेलाडी फाफ डु प्लेसिसलाई १२ रनमा सीमित पारे। विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन जोडे। लुम्बिनीका लागि 'प्लेयर अफ द म्याच' घोषित शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका थिए।



