
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य सुस्त देखिएको छ। ३० महिनाभित्र सम्पन्न गर्ने गरी २०८१ असारमा ठेक्का सम्झौता भए पनि निर्धारित समय सीमा सकिन अब ८ महिना मात्र बाँकी रहँदा आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशत मात्रै पुगेको छ। महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार रङ्गशालाका संरचनाहरूको काम विभिन्न चरणमा रहेका छन्: यउटा टावरको निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ भने दोस्रो टावरको दोस्रो तला ढलानको काम सकिएको छ। कुल चारवटा प्यारापिटमध्ये एउटाको काम सकिएको छ, दुईवटाको ढलान भइसकेको छ र बाँकी एउटाको काम भर्खरै सुरु भएको छ। मैदान निर्माणको काम सुरु भइसकेको छ। वर्षायाम अगाडि नै मैदानमा बर्मुडा घाँस रोप्ने र ५ वटा पिच तयार पार्ने योजना रहेको छ। भूमिगत पावर केबल जडान, प्लम्बिङ र पहुँच मार्ग (बाटो) बनाउने काम पनि सँगसँगै अघि बढाइएको छ। लागत र बजेट व्यवस्थापन हिमालयन कालिञ्चोक बिबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा २०८३ पुस २२ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो। यस आयोजनामा बागमती प्रदेश सरकारले कुल बजेटको ७० प्रतिशत हिस्सा व्यहोर्ने छ। सङ्घीय सरकार र भरतपुर महानगरपालिकाले बाँकी लागतको साझेदारी गरेका छन्। चालु आर्थिक वर्षका लागि महानगरले ४ करोड रुपैयाँ विनियोजन गरेको छ भने सङ्घीय सरकारसँग थप बजेट माग गरिएको छ। महानगरको ताकेता निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाउँदै भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई काममा तीव्रता दिन निर्देशन दिएका छन्। उनले भने, "हाम्रो तर्फबाट बजेट वा सहजीकरणमा कुनै समस्या छैन। हामीले निर्माण कम्पनीलाई तोकिएको समयमै काम सक्न पटक-पटक ताकेता गरिरहेका छौँ।" धुर्मस-सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण काम छाडेपछि महानगरले यस आयोजनाको अपनत्व लिएर तीनै तहका सरकारको समन्वयमा निर्माण अघि बढाएको हो। यद्यपि, कामको हालको गति हेर्दा २०८३ पुससम्म रङ्गशाला पूर्ण रूपमा तयार हुनेमा भने चुनौती देखिएको छ।

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्मा पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा गम्भीर कानुनी प्रश्न र 'प्रशासनिक विचलन' देखिएको छ। सदस्य–सचिवका लागि दरखास्त दिएका उम्मेदवारहरूलाई नै योग्यता क्रम मिचेर उपाध्यक्ष र सदस्यमा 'बक्सिस' स्वरूप नियुक्ति गरिएपछि यो प्रकरण अहिले अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ। १. मन्त्रीको सचिवालयबाटै 'गोप्य सूचना' सार्वजनिक: नियतमाथि प्रश्न मन्त्रालयको चयन प्रक्रियामा 'विज्ञ समिति'ले दिएको प्राप्तांक मन्त्रिपरिषद्को निर्णय नहुँदासम्म अत्यन्तै गोप्य रहनुपर्ने प्रशासनिक मान्यता छ। तर, कर्णालीमा मन्त्रालयको लेटरहेडमा रहेको आधिकारिक प्राप्तांक विवरण निर्णय हुनुपूर्व नै माननीय सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको सचिवालयको फेसबुक पेजबाट सार्वजनिक भयो। तथ्य विश्लेषण: आधिकारिक माध्यम (वेबसाइट वा सूचना पाटी) लाई बेवास्ता गर्दै मन्त्रीको निजी सचिवालयबाट अंक बाहिरिनुले सम्बन्धित कर्मचारी र प्रतिस्पर्धीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्न खोजिएको देखिन्छ। यसले सरकारी सूचनाको गोपनीयता सम्बन्धी ऐन र सुशासनको न्यूनतम मर्यादालाई समेत चुनौती दिएको छ। २. सदस्य–सचिवमा 'कम योग्य', उपाध्यक्षमा 'बढुवा'! (ऐनको दफा ६ र १२ को छिद्र) कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ (पहिलो संशोधन २०७९) को दफा १२ र 'सदस्य–सचिव छनौट मापदण्ड, २०८२' अनुसार विज्ञ समितिले सिफारिस गरेको मेरिट लिस्ट यस्तो थियो: • प्रथम: रविन्द्र चन्द (६७.२७ अंक) • दोस्रो: दिपक हमाल (६०.६३ अंक) • तेस्रो: प्रमोद हमाल (५२.३७ अंक) सरकारले चैत १२ गतेको निर्णय मार्फत सदस्य–सचिवमा पहिलो नम्बरका रविन्द्र चन्दलाई नियुक्त गर्यो। तर, सोही प्रतिस्पर्धामा तेस्रो नम्बरमा रहेका प्रमोद हमाललाई सोही भन्दा माथिल्लो मर्यादाको उपाध्यक्ष पदमा नियुक्ति गरियो। सदस्य–सचिवमै अन्तर्वार्ता दिएका पंख बहादुर मल्ल र पवन कुमार थापालाई सदस्यमा मनोनयन गरियो। कानुनी प्रश्न: ऐनको दफा ६ (२) (ख) ले उपाध्यक्ष र सदस्यको नियुक्तिको आधार छुट्टै तोकेको छ। के सदस्य–सचिवको विज्ञापनमा आवेदन दिनु नै उपाध्यक्ष बन्ने योग्यता हो? एउटै विज्ञापनबाट फरक–फरक पदमा 'मिक्स एण्ड म्याच' नियुक्ति गर्नु कानुनको अपव्याख्या हो। ३. दिलिप बस्यालको 'कानुनी संघर्ष': अदालत र अख्तियारमा रिट यो नियुक्ति प्रक्रिया अपारदर्शी र पूर्वाग्रही भएको भन्दै दिलिप बस्यालले प्रमाणसहित दुईवटा निकायमा उजुरी दर्ता गराएका छन्: • उच्च अदालत सुर्खेत: नियुक्ति प्रक्रियामा मेरिटको उपहास गरिएको र विज्ञापन भन्दा बाहिर गएर पद बाँडफाँड गरिएको भन्दै उत्प्रेषण र परमादेशको मागसहित रिट दायर गरिएको छ। • अख्तियार दुरुपयोग अनुसन्धान आयोग: पदको दुरुपयोग गरी शक्तिको आडमा विधि मिचेर राज्यको स्रोत परिचालन गर्ने गरी नियुक्ति गरिएको भन्दै छानबिनका लागि उजुरी परेको छ। ४. शपथ ग्रहणमा 'हतारो' र दफा ४० को विवाद ऐनको दफा ४० ले पदाधिकारीको शपथ सम्बन्धी व्यवस्था गरेको छ। प्रक्रिया नै त्रुटिपूर्ण रहेको र उजुरी परेको जानकारी हुँदाहुँदै हतार–हतार शपथ गराउनुले सरकार आफ्नो निर्णयलाई 'जबरजस्ती' स्थापित गर्न चाहन्छ भन्ने पुष्टि हुन्छ। मन्त्रीलाई शपथ खुवाउने अधिकार छ कि छैन भन्ने विषयमा पनि कानुनी अस्पष्टता कायम रहँदा रहँदै गरिएको यो कार्य थप विवादास्पद बनेको छ। ५. निष्कर्ष: खेलकुद कि कार्यकर्ता भर्ती केन्द्र? प्रस्तुत तथ्य र तस्बिरहरूले के देखाउँछन् भने: 1. सूचना चुहावट: मन्त्रीको सचिवालयले सूचनालाई 'रणनीतिक अस्त्र'को रूपमा प्रयोग गर्यो। 2. प्रक्रियागत त्रुटी: सदस्य–सचिवको विज्ञापनलाई उपाध्यक्ष र सदस्य भर्ती गर्ने 'सर्टकट' बाटो बनाइयो। 3. नैतिक संकट: योग्यतामा तेस्रो भएका व्यक्तिलाई माथिल्लो पद दिनुले 'मेरिटोक्रेसी' को अन्त्य गरेको छ। अदालत र अख्तियारको फैसलाले यो नियुक्तिको भविष्य तय गर्ने नै छ, तर हाललाई कर्णालीको खेलकुद विकास परिषद् व्यावसायिक संस्था भन्दा पनि राजनीतिक 'कार्यकर्ता भर्ती केन्द्र' मा परिणत भएको गम्भीर आरोप लागेको छ।

काठमाडौँ। कर्णालीका प्रतिभाशाली खेलाडी प्रभिन बयकज्यू ले १३ औँ कोरियन एम्बासडर अन्तर्राष्ट्रिय ते’’क्वान्दो प्रतियोगितामा कांस्य पदक हासिल गर्दै प्रदेशको गौरव बढाएका छन्। दक्षिण कोरियाली दूतावासको आयोजना तथा नेपाल ते’’क्वान्दो संघको समन्वयमा सम्पन्न यो प्रतिष्ठित प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीहरूको उपस्थिति रहेको थियो। कडा प्रतिस्पर्धाबीच प्रभिनले उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पारेका हुन्। पदकसँगै उनलाई Merit Certificate समेत प्रदान गरिएको छ। उनको सफलताले कर्णाली प्रदेशमा मात्र होइन, समग्र नेपालमा पनि ते’’क्वान्दो क्षेत्रको प्रतिष्ठा उचो बनाएको छ। स्थानीय तहदेखि खेल क्षेत्रमा सक्रिय संघ–संस्थाहरूले प्रभिनको सफलताप्रति प्रसंसा व्यक्त गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अझै उत्कृष्ट परिणाम ल्याउने विश्वास व्यक्त गरेका छन्। प्रभिन बयकज्यूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज एक रोमाञ्चक मोडमा आइपुगेको छ, जहाँ प्लेअफको दौडमा रहेका टोलीहरूका लागि यो दिन निर्णायक हुनेछ। आज हुने दुई खेलले प्रतियोगिताको आगामी समीकरण स्पष्ट पार्नेछ, जसमा दुई टोलीका लागि 'गर या मर' को स्थिति छ। दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। पाँच खेलबाट केवल चार अङ्क जोडेको पोखरालाई प्लेअफको गणितीय सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने बाध्यता छ। उता, ६ खेलबाट आठ अङ्कका साथ सहज स्थितिमा रहेको काठमाडौँ जितसहित आफ्नो स्थान थप बलियो बनाउने लक्ष्यमा हुनेछ। त्यसैगरी, दिउँसो हुने दोस्रो खेलमा अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ। १० अङ्कका साथ बलियो देखिएको सुदूरपश्चिमविरुद्ध मैदान उत्रँदा चितवनलाई भने जित्नै पर्ने चर्को दबाब छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको चितवनका लागि प्लेअफको यात्रा कायमै राख्न आजको जित अनिवार्य बनेको छ।

काठमाडौं- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। National life त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ। चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ। दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ। चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ। जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले सिजनको पहिलो जित दर्ता गरेको हो। जनकपुर बोल्ट्सको भने यो लगातार तेस्रो हार हो। पोखराले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको हो। जनकपुर बोल्ट्सका लागि आठौँ क्रमका ब्याटर वायन पार्नेलले अर्धशतक पूरा गरे। उनले ३८ बलमा २ चौका र ४ छक्कासहित ५० रन पूरा गर्दै रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिए। १९ औँ ओभरमा खुट्टामा क्रयाम्प आउँदा उनले अर्धशतक पूरा गर्दै मैदानबाट बाहिरिएका हुन्। सुरुवाती २ विकेट सस्तैमा गुमायो। तेस्रो विकेटका लागि निकोल लोफ्टी इटोनसँग माज सदाकले १४ रनको साझेदारी गरे। आसिफ शेख गोल्डेन डक हुँदा शुभ कंसाकर ४ रन र निकोल लोफ्टी इटोन २ रनमा पेभेलियन फर्किए। चौथो विकेट माज सदाकको गयो। उनले १४ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए। पाँचौं विकेट कप्तान अनिल शाहको गयो । छैटौं विकेट मयन यादवको रूपमा जनकपुरले गुमायो। सातौँ विकेट सञ्जय कृष्णमुर्तीको गयो । उनले २५ रन बनाए। उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्। रुपेश सिंहले ७ रन बनाएर क्याच भए। ललित राजवंशी १० र किशोर महतो १ रनमा अविजित रहे। पोखरा एभेन्जर्सका लागि बलिङतर्फ विपिन खत्रीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए। सुमित बर्माले २ र कुशल भुर्तेलदर जिमी निशमले १–१ विकेट लिए। डेथ ओभर बलिङ गर्न आएका डान डाउथवर्थ पनि १९.२ ओभरमा क्रयाम्प आउदा मैदानबाट बाहिरिएका थिए। टस जितेर पहिलो इनिङ्समा ब्याटिङ गर्ने निर्णय लिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। पोखराका लागि सुमित बर्माले सर्वाधिक रन बनाए। उनले अर्धशतकीय पारी खेल्दै पोखराका लागि सम्मानजनक स्कोर बनाए। उनले २८ बलमा २ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहे। पावरप्लेमा बिना कुनै विकेट ४५ रन बनाएको पोखराले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गर्यो। त्यसपछि तृतराज दास र सुमित बर्माले पाँचौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै पोखराको स्कोर उकासेका हुन्। पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेको पोखराले राम्रो सुरुवात पाएको थियो। पहिलो विकेटको रूपमा एडम रोसिङ्टोनको विकेट गयो। उनले २४ रन बनाए। पहिलो विकेटको क्षतीपछि २ रन जोड्न पोखराले २ विकेट गुमाएको थियो। दोस्रो विकेट कप्तान कुशल भुर्तेल गोल्डेन डक हुँदा तेस्रो विकेटको रूपमा ओपनर दिनेश खरेलको विकेट गयो। दिनेशले ३८ रन बनाए। चौथो विकेट जिमी निसमको गयो । उनी खाता खोल्ने बित्तिकै पेभेलियन फर्किए। पाँचाैँ विकेट तृतराज दास रनआउट भए। उनी र सुमित बर्माले पाँचौं विकेटको लागि राम्रो साझेदारी गरे। तृतराज दासले २९ रन बनाए। छैटौं विकेट डान डाउथवैटको गयो । उनी ७ रनमा क्याच भए। किरण ठगुन्ना १ रनमा अविजित रहे। जनकपुर बोल्ट्सका लागि सञ्जय कृष्णमुर्तिले सर्वाधिक ३ विकेट लिए। अनिल शाह र ललित राजवंशीले १–१ विकेट लिए। पोखराले यसअघि, पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रन र दोस्रो खेलमा सुदूर पश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो। जनकपुर बोल्ट्सले पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेट । दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले हार बेहोरेको थियो। आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको थियो। शुक्रबार २ खेल छन्। पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज भिड्नेछन्। दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबिच खेल हुनेछ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध खराब ब्याटिङको सुरुवात गरेको छ। बुधबार जारी प्रतियोगिताको १२ औँ खेलमा चितवनले प्रस्तुत गरेको १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले पावरप्लेको ६ ओभरभित्रै आफ्ना चार प्रमुख ब्याट्सम्यान गुमाउँदै मात्र ३६ रन जोड्न सक्यो, जसले गर्दा टोली सुरुबाटै दबाबमा परेको छ। विराटनगरका लागि साम हेज्जलेटले ११ बलमा ३ छक्कासहित २२ रनको विस्फोटक पाली खेले पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्। ओपनरद्वय लोकेश बम ७ तथा जर्ज मुन्से ४ रनमा पेभेलियन फर्किए भने वसिर अहमद खाता नखोली आउट भए। चितवनका बलरहरूले कसिलो बलिङ गर्दै विराटनगरमाथि निरन्तर दबाब बनाएका थिए, जसमा रञ्जित कुमारले २ तथा सोहिल तान्भिर र कमल सिंह ऐरीले एक-एक विकेट लिए। यसअघि प्रतियोगितामा लगातार तीन खेल जितेर उत्कृष्ट लयमा रहेको विराटनगरलाई यो खेल जित्न अब मध्यक्रमका ब्याट्सम्यानले जिम्मेवारीपूर्ण प्रदर्शन गर्नुपर्नेछ। यता, आफ्नो तेस्रो खेल खेलिरहेको चितवन भने यो खेल जितेर अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने दाउमा छ।