
अल्डरसट, युके।
अंक फाउन्डेसनको आयोजनामा बेलायत (युके) को अल्डरसटस्थित एम्पायर हल (Empire Hall) मा हरितालिका तीजको अवसरमा विशेष 'शुभकामना आदानप्रदान तथा नेपालका बाढीपीडित सहयोगार्थ' सांगीतिक एवं परोपकारी कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सुजन रावतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए युके (NRNA UK) का अध्यक्ष प्रेम गाहा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन अंक फाउन्डेसनका संरक्षक दिपेश कुमार बाठा मगरले गर्नुभएको थियो।
एकद्वार प्रणालीमार्फत बाढीपीडितलाई सहयोग
कार्यक्रममा नेपालका बाढीपहिरो पीडितहरूको उद्धार तथा राहतका लागि विशेष पहल गरिएको थियो। एकद्वार प्रणालीअनुरूप उपस्थित सम्पूर्ण महानुभावहरूलाई नेपाल सरकारको दैवी प्रकोप राहत कोषको क्यूआर (QR) कोड उपलब्ध गराएर सिधै सहयोग गर्न आह्वान गरिएको थियो। यसैगरी फाउन्डेसनका सदस्यहरूले पनि नेपाल सरकारको आधिकारिक खातामा रकम जम्मा गरी सहयोग पुर्याएका छन्।
नेपालका चर्चित कलाकारहरूको भव्य प्रस्तुति
कार्यक्रममा नेपालबाट पुगेका चर्चित कलाकारहरू—नायक धीरेन शाक्य, नायिका रजनी गुरुङ, गायक कृष्ण सुवेदी, गायिका कामना ओली तथा सविता परियारले आफ्नो सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएर दर्शकहरूलाई मनोरञ्जन गराएका थिए।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण संस्थाका सदस्यद्वय विवेक श्रेष्ठ र अनिल खड्काले गर्नुभएको थियो। सो कार्यक्रमलाई सफल बनाउन Suhmina Aesthetic Clinic र Bantha Cleaning Ltd ले प्रायोजकको (Sponsor) भूमिका निर्वाह गरेका थिए भने विषयगत लेखन कार्यमा नेपालबाट गणेश चिन्तनले सहयोग गर्नुभएको थियो।


