
नेपालमा विद्युत् उत्पादन र प्रयोग बढेसँगै पेट्रोलियम पदार्थको आयात र खपतमा उल्लेख्य गिरावट आएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिना (साउन–फागुन) मा प्रमुख इन्धनहरूको आयात घटेको हो।
यातायातमा विद्युतीय सवारी (ईभी) र भान्सामा विद्युतीय चुलोको बढ्दो आकर्षणका कारण पेट्रोलियम पदार्थमाथिको परनिर्भरता कम हुँदै गएको मन्त्रालयको निष्कर्ष छ।
कुन इन्धनको आयात कति घट्यो?
पेट्रोल: १० प्रतिशतले घटेर ४ लाख ३८ हजार किलोलिटरमा सीमित।
डिजेल: ९.९ प्रतिशतले घटेर ७ लाख ९१ हजार किलोलिटर।
एलपी ग्यास: ११.१ प्रतिशतले घटेर ३ लाख २२ हजार मेट्रिक टन।
मट्टीतेल र हवाई इन्धन: मट्टीतेल ४७.७ प्रतिशत र हवाई इन्धन ८.६ प्रतिशतले गिरावट।
आयातसँगै स्वदेशी बजारमा पेट्रोलको बिक्री ६.४ प्रतिशत र डिजेलको बिक्री ८.७ प्रतिशतले घटेको छ।
विद्युत् क्षमता ४ हजार मेगावाट नाघ्यो
इन्धनको खपत घटिरहँदा देशको जलविद्युत् क्षमता भने उल्लेख्य रूपमा विस्तार भएको छ। २०८२ फागुनसम्म मुलुकको कूल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ।
हाल देशको ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगिसकेको छ भने कूल ऊर्जा खपतमा विद्युत्को हिस्सा बढेर १२.१ प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ। यस सकारात्मक परिवर्तनले देशको व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्रा सञ्चितिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

