
सडक स्तरोन्नति, टेलिकम टावर निर्माण र विद्युतीकरणको माग राख्दै सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन् |
वडामा आधारभूत विकासका पूर्वाधारहरू नपुगेको र जनताले वर्षौंदेखि सास्ती खेप्नुपरेको भन्दै वडाध्यक्ष रिजाल सुर्खेतस्थित मुख्यमन्त्री कार्यालयको मूल गेट अगाडि लामखुट्टे झुल टाँगेर शान्तिपूर्ण धर्नामा बसेका हुन् । उनको यो आन्दोलनमा वडा सदस्य विर्खबहादुर राना लगायत स्थानीय युवा तथा सामाजिक अभियानकर्मीहरूले पनि ऐक्यबद्धता जनाउँदै साथ दिएका छन् ।
–स्वामीबास–बबई सडकखण्डको तत्काल स्तरोन्नति तथा कालोपत्रे गरिनुपर्ने र
र इन्टरनेट सेवाका लागि तत्काल टेलिकमको टावर निर्माण गरिनुपर्ने ।
साथै अनकन्टार र दुर्गम बस्तीहरूमा तत्काल विद्युत विस्तार गरिनुपर्ने अध्यक्षकाे माग रहेकाे छ ।
प्रदेश सरकारको योजना अन्तर्गत गत वर्ष पिलर ठड्याएर अलपत्र पारिएको पुलको निर्माण कार्य तत्काल सम्पन्न गरिनुपर्ने ।
"हामीले वर्षौंदेखि दुःख पाएका छौँ । सडक छैन, फोनले काम गर्दैन, नागरिकले आधारभूत सेवा पाउन पनि ठुलो संघर्ष गर्नुपरिरहेको छ," धर्नास्थलबाट वडाध्यक्ष रिजालले भने, "पटकपटक मन्त्रालय धाएर आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर प्रदेश राजधानीमै आउनुपरेको हो । माग पूरा नभएसम्म धर्नाबाट उठ्ने छैनौँ । आवश्यक परे आगामी असार १ गते (बजेट आउने दिन) सम्म पनि धर्ना जारी रहन सक्छ ।"
जनताका प्रत्यक्ष सरोकारका विषयमा प्रदेश सरकारले ठोस सम्बोधन नगरेसम्म धर्ना कार्यक्रम निरन्तर अगाडि बढाउने अडान आन्दोलनरत पक्षको छ ।

