
सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका लुगाकपडा बरामद गरेको छ।
सोमबार नगरपालिकाको वडा नम्बर १३ स्थित कुशहा क्षेत्रबाट अवैध रूपमा भित्र्याइएको १० लाख ९६ हजार २ सय ६० रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरीक्षक (SP) रोशन बुढाथोकीका अनुसार प्रहरी निरीक्षक विकास श्रेष्ठको कमाण्डमा खटिएको विशेष टोलीले उक्त सामान बरामद गरेको हो। भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले यी सामान फेला पारेको थियो।
बरामद गरिएका कपडाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको छ।



