
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को परिच्छेद ६ को दफा ४५ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबारमा कार्यरत विवरण दर्ता अपरेटरको User ID र Password दुरुपयोग गरी विभिन्न व्यक्तिहरूको व्यक्तिगत विवरण हेरी गैरकानुनी रूपमा प्रयोग गरिएको पाइएको छ।
अनुसन्धानका क्रममा उक्त कार्य राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ४५ अन्तर्गत अपराध ठहरिने भएकाले संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ।
नेपाल प्रहरी प्रधान कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी संवेदनशील डाटाको दुरुपयोग नगर्न तथा यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।



