
भ्रष्टाचारविरुद्धको सशक्त कथावस्तुमा आधारित नेपाली चलचित्र ‘बिगुल’को पहिलो झलक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। रमेश कोइरालाद्वारा निर्देशित यो बहुप्रतिक्षित चलचित्र आगामी माघ ९ गतेदेखि देशभरका सिनेमाघरमा लाग्ने भएको हो। सार्वजनिक पोस्टरहरूले फिल्मको विद्रोही भावलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्, जसमा एकातर्फ गम्भीर मुद्रामा देखिएकी अभिनेत्री बेनिशा हमालको पृष्ठभूमिमा मसाल बोकेको आक्रोशित भीड देखिन्छ भने अर्कोतर्फ मुख्य कलाकारहरूलाई आक्रोशपूर्ण भावमा देखाइएको छ। फिल्मको कथाले हालै देशमा युवाहरूले गरेको आन्दोलनको झल्को दिनुलाई निर्माण पक्षले एक दुर्लभ संयोग मानेको छ, किनकि यो कथा चार महिनाअघि नै तयार भइसकेको थियो।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको निर्माण तथा कथामा बनेको यो फिल्मले युवा र महिलामा चेतना जगाएर विकृतिविरुद्ध परिवर्तनको बिगुल फुक्ने निर्माता कोइराला बताउँछन्। निर्देशक कोइरालाले यसलाई पारिवारिक, सामाजिक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको भुइँमान्छेको सपना र संघर्षको कथाको रूपमा व्याख्या गरेका छन्। फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकीका साथै नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी र शिशिर वाङ्देलजस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ। प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, शिव ढकालको छायाङ्कन र तारा थापा ‘किम्भे’को सम्पादन छ।



