
काठमाडौँ, २८ श्रावण ।
नेपाल र इन्डियाका प्रधान सेनापतिहरूलाई एक-अर्काको देशको सैन्य संगठनमा मानार्थ महारथी (जनरल) दर्जा प्रदान गर्ने दशकौँ पुरानो परम्परा तत्काल अन्त्य गर्न माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली सेनाका प्रधान सेनापतिसमक्ष ज्ञापनपत्र बुझाएको छ।
बुधबार भद्रकालीस्थित सैनिक मुख्यालय पुगेर मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रस्तुत गरिएको हो। विगत ७५ वर्षदेखि चल्दै आएको यो परम्परा जनपक्षीय नभएकाले यसमाथि पुनर्विचार गर्नु अपरिहार्य भइसकेको मोर्चाको तर्क छ।
स्वतन्त्र अस्तित्व र कूटनीतिक सन्तुलनमा प्रश्न
ज्ञापनपत्रमा कुनै पनि देशको सैन्य संगठन आफ्नो राष्ट्रिय रक्षा रणनीतिका साथ स्वतन्त्र रूपमा अघि बढ्ने भएकाले नेपाली सेना इन्डियाली सेनासँग एकाकार हुने शैलीमा अघि बढ्दा यसको स्वतन्त्र अस्तित्वमाथि नै शंका उब्जिएको उल्लेख गरिएको छ।
त्यसैगरी, इन्डियाका सैनिक नेतृत्व तहका कतिपय व्यक्तिहरूले इन्डियाली स्थल सेनाध्यक्ष नेपाली सेनाको पनि मानार्थ महारथी हुने भएकाले विशेष परिस्थितिमा नेपालको सहमतिबिनै सेना पठाउन सक्ने प्रकृतिका बदनियतपूर्ण भाष्य बनाउने गरेको र त्यसको मुख्य कारण यही मानार्थ दर्जा नै रहेको मोर्चाको दाबी छ।
दुई विशाल छिमेकीमध्ये एउटा देशका सेनाध्यक्षलाई मात्र विशेष महत्त्व दिनु रणनीतिक त्रुटि र कूटनीतिक असन्तुलन भएको भन्दै ज्ञापनपत्रमा भनिएको छ, "होइन भने जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाका प्रमुखलाई पनि नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानीले सुशोभित गर्नुपर्छ। यसो गर्न नेपाली सेना तयार छ कि छैन खुलस्त गर्नुपर्छ।"
आगामी भ्रमणको विरोध गर्ने चेतावनी
मोर्चाले दुवै देशका सेनाप्रमुखहरूले एक-अर्काबाट दर्जा लिने-दिने परम्परा यसै पटकदेखि पूर्ण रूपमा अन्त्य हुनुपर्ने जोडदार माग गरेको छ। यदि यो परम्परा अन्त्य नगरिएमा इन्डियाली स्थल सेनाध्यक्ष धीरज सेठको आसन्न नेपाल आगमनको तीव्र विरोध गर्ने चेतावनीसमेत मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले दिनुभएको छ।



