
काठमाडौं । नेपालमा निर्वाचनको मिति नजिकिँदै जाँदा अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा असामान्य गतिविधि देखिन थालेको छ। चीनपछि अब अमेरिकाले पनि नेपालका लागि आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ, जसले नेपाल–केन्द्रित भूराजनीतिमा नयाँ संकेत र चासो पैदा गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपी (Associated Press) का अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले नेपालसहित एकैपटक करिब ३० देशमा कार्यरत आफ्ना राजदूत तथा वरिष्ठ कूटनीतिज्ञलाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेको हो। यस निर्णयअनुसार नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन पनि छिट्टै अमेरिका फर्कने तयारीमा छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राजदूत थम्पसनलाई माघको पहिलोदेखि दोस्रो साताभित्र स्वदेश फर्कन निर्देशन दिइएको छ। ट्रम्प प्रशासनले यसबारे गएको साता नै सम्बन्धित राजदूतहरूलाई औपचारिक जानकारी गराइसकेको जनाइएको छ। यद्यपि ती राजदूतहरूको कार्यकाल सन् २०२६ जनवरी मा सकिने भनिए पनि उनीहरूलाई समयअगावै फिर्ता बोलाइएको हो। फिर्ता बोलाइएका सबै राजदूतहरू पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त भएका थिए।
यसअघि चीनले पनि नेपालका लागि आफ्ना राजदूत छन सोङलाई फिर्ता बोलाइसकेको छ। राजदूत छनले बिदाइ भेटघाटसमेत गरिसकेका छन् र उनी पुस ९ गते स्वदेश फर्कँदै छन्। भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि विकसित राजनीतिक घटनाक्रमप्रति चीन असन्तुष्ट रहेको बताइन्छ। विशेषगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा चिनियाँ कम्पनीविरुद्ध मुद्दा दर्ता हुनु, तिब्बती शरणार्थीको गतिविधि बढ्नु जस्ता विषयमा चीनले नेपाल सरकारसमक्ष पछिल्ला दिनमा खुला असन्तुष्टि जनाउँदै आएको थियो। यही पृष्ठभूमिमा चीनले आफ्ना राजदूत फिर्ता बोलाएको विश्लेषण गरिएको छ।
यता, भारतका लागि नेपालस्थित राजदूत नवीन श्रीवास्तव हाल अस्वस्थ छन्। केही दिनअघि काठमाडौंको चम्पादेवीमा हाइकिङका क्रममा अचेत भएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। त्यसपछि धापासीस्थित ग्रान्डी अस्पतालमा मुटुको अपरेसन गरी उपचार गरिएको थियो। हाल उनी अस्पतालबाट डिस्चार्ज भई दूतावासमै आराम गरिरहेका छन्। स्वास्थ्य अवस्थाका कारण पछिल्ला दिनमा उनी कूटनीतिक गतिविधिमा सक्रिय हुन सकेका छैनन्।



