
काठमाडौँ, १० पुस — निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक गरेको छ। आयोगले सरोकारवालाबाट सल्लाह तथा सुझाव संकलन गर्ने उद्देश्यले मस्यौदा सार्वजनिक गरेको हो।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता आवश्यक भएकाले मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै आयोगले आचारसंहिताको मस्यौदा सार्वजनिक गरेको हो।
मस्यौदामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समावेश गरिएको छ। नयाँ आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता–२०७९ खारेज गरिएको आयोगले स्पष्ट पारेको छ।
आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न सकिने, अनुगमनका लागि विद्युतीय माध्यम तथा सूचना प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। साथै, राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा समावेश गरिएको छ।
आयोगले तोकिएको समयभित्र मस्यौदामाथि सुझाव दिन सबै सरोकारवालालाई आग्रह गरेको छ।
(रासस)



