
पञ्चपुरी (सुर्खेत) । आवाज संस्था सुर्खेतको आयोजना तथा TDH/MISEREOR/KZE को संयुक्त साझेदारीमा पञ्चपुरीमा सञ्चालित ३ दिने सीप विकास तालिम सम्पन्न भएको छ। महिला, बालबालिका तथा किशोरीहरूलाई अधिकार र सेवामा पहुँच पुर्याउने परियोजनाअन्तर्गत बोइलर कुखुरा पालन, लोकल कुखुरा पालन, बाख्रापालन र बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरिएको हो।
पञ्चपुरी नगरपालिका–५, बाबियाचौरमा असोज २ देखि ४ गतेसम्म सञ्चालन भएको उक्त तालिममा १५ जना युवा उद्यमीहरूको सहभागिता रहेको थियो। पञ्चपुरीका १ देखि ११ वडाभित्रका विपन्न, दलित, एकल महिला तथा समस्या प्रभावित परिवारहरूलाई वडा जनप्रतिनिधिहरूको रोहवरमा छनोट गरी तालिममा सहभागी गराइएको हो।
तालिमपश्चात् प्रत्येक उद्यमीलाई व्यवसाय सञ्चालनका लागि आवाज संस्थाले रु. २०,००० का दरले आर्थिक सहयोग उपलब्ध गराउनेछ। उक्त सहयोगसँगै सहभागीहरूले ५० प्रतिशत स्वलगानी गरी व्यवसाय अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले आयआर्जनका कार्यक्रमले आर्थिक समृद्धिसँगै पारिवारिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। साथै, आगामी दिनमा नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले संस्थाको कार्यको प्रशंसा गर्नुभयो।
संस्थाका सामाजिक परिचालक तेजबहादुर रोकायका अनुसार तालिमले स्थानीय स्रोत र साधनमा आधारित उद्यम सञ्चालन गर्न व्यावहारिक ज्ञान प्रदान गरेको छ, जसले विपन्न परिवारको दिगो जीविकोपार्जनमा सहयोग पुग्नेछ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख, उद्योग शाखा प्रतिनिधि र सम्बन्धित वडा अध्यक्षहरूलगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।



