
सुर्खेत, १३ असार ।
विनाशकारी भूकम्पको समयमा खोज, उद्धार तथा आपत्कालीन स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास’ सम्पन्न भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजना एवं युएनडिपी, युनिसेफ, र सुन्दर नेपाल संस्था लगायतका विभिन्न दातृ तथा स्थानीय निकायहरूको समन्वयमा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तरगत यो कार्यक्रम गरिएको हो।
कार्यक्रममा विपद् विज्ञ डा. सिर्जन मल्लले विनाशकारी विपद्को समयमा राज्यका संयन्त्रहरूले तत्काल गर्नुपर्ने कार्य र शीघ्र खोज तथा उद्धारको महत्त्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
समूह कार्य र प्राप्त सुझावहरू:
अभ्यासका क्रममा विभिन्न सरोकारवाला निकायहरूले छुट्टाछुट्टै समूहमा कार्य गरी विपद् प्रतिकार्य योजना बनाएका थिए:
प्रदेश विपद् व्यवस्थापन समिति: आधुनिक प्रविधिको प्रयोग गर्दै टोली परिचालन गर्ने, गोदाम घरको प्रबलीकरण गर्ने र नीतिगत प्रयासहरूलाई बलियो बनाउने निष्कर्ष निकाल्यो।
विषयगत समूह तथा निजी क्षेत्र: कर्णाली र भेरी करिडोरमा वायरहाउस (गोदाम) खोल्नुपर्ने, तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने र खानेपानी, स्वास्थ्य तथा पोषणको मुख्य जिम्मेवारी मुख्यमन्त्री कार्यालयले लिनुपर्ने सुझाव दियो।
प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र: स्थानीय तहका आपत्कालीन केन्द्रहरूलाई क्रियाशील बनाउनुपर्ने र जिल्ला विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दियो।
मुख्यमन्त्री कार्यालयका सचिव निधिराज न्यौपाने र सहजकर्ता दामोदर अधिकारीले यो अभ्यासले विपद्को समयमा फिल्डमा गरिने कामको रूपरेखा तयार पार्न र आपसी समन्वय बलियो बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।



