
पञ्चपुरी, सुर्खेत
आवाज संस्था सुर्खेत र TDH/MISEREOR/KZE को संयुक्त साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत पञ्चपुरी नगरपालिकामा ९ दिने ‘बर्नरसहितको आधुनिक सुधारिएको दुईमुखे चुलो निर्माण सीप विकास तालिम’ सम्पन्न भएको छ।
पञ्चपुरी नगरपालिका–६ स्थित बाबियाचौरको डेविड होटलमा आयोजित समापन कार्यक्रममा वडा नं. १ देखि ११ सम्मका ३३ जना महिलालाई सीप विकास तालिम सफलतापूर्वक पूरा गरेकोमा प्रमाणपत्र वितरण गरिएको छ। तालिममा दलित, एकल महिला, घरेलु हिंसा प्रभावित, आर्थिक रूपमा विपन्न तथा विभिन्न समस्याबाट प्रभावित महिलाहरूलाई प्राथमिकता दिइएको थियो।
आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीको सभाध्यक्षतामा आयोजित समापन समारोहमा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो।
विज्ञहरूद्वारा प्रशिक्षण
मधुकर केसीद्वारा आविष्कृत यस सुधारिएको चुलो निर्माण तालिममा प्रशिक्षकद्वय दिल्लिधोज तिमिल्सिना र छविराम लामिछानेले ९ दिनसम्म सहभागीहरूलाई व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।
दाउरा बचत र स्वास्थ्यमा सुधार
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लालवीर भण्डारीले यस्ता सीपमूलक तालिमले महिलाको आत्मविश्वास, नेतृत्व क्षमता र आर्थिक आत्मनिर्भरता बढाउन सहयोग पुर्याउने बताउनुभयो। सुधारिएको चुलोले दाउराको खपत घटाउने, घरभित्रको धुवाँ कम गरी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र वातावरण संरक्षणमा समेत योगदान पुर्याउने उल्लेख गर्दै उहाँले नगरपालिकाका तर्फबाट निरन्तर सहकार्य र सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, वडा नं. ३ का कार्यवाहक अध्यक्ष सुरज कार्कीले स्थानीय स्रोत र सीपको सदुपयोग गर्दै खर, माटो र भुसजस्ता सामग्रीबाट स्वास्थ्यमैत्री र धुवाँमुक्त समुदाय निर्माण गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
महिलाको प्राथमिकता र व्यावहारिक अभ्यास
आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीका अनुसार धुवाँयुक्त भान्साले महिलाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको अवस्थामा सुधारिएको चुलो निर्माण महिलाहरूको पहिलो प्राथमिकताभित्र पर्छ। यसले आँखा तथा श्वासप्रश्वाससम्बन्धी समस्या न्यूनीकरण गर्नुका साथै खाना पकाउन लाग्ने समय र इन्धन बचत गर्ने उहाँको भनाइ छ।
तालिमको व्यावहारिक अभ्यास पञ्चपुरी नगरपालिका वडा नं. ८ को दुलालथाई र माझिगाउँमा सम्पन्न गरिएको थियो। सहभागीहरूले बर्नरसहितको आधुनिक सुधारिएको दुईमुखे चुलो निर्माणको पूर्ण व्यावहारिक अभ्यास हासिल गरेका छन्।
तीन वर्षभित्र २५ सय घरधुरीमा पुर्याउने लक्ष्य
तालिमप्राप्त महिलाहरूले अब स्थानीय वडा कार्यालयहरूसँग समन्वय गरी नगरपालिकाका अन्य विपन्न समुदायका घरधुरीमा चुलो निर्माण गर्नेछन्। यस परियोजना अन्तर्गत आगामी तीन वर्षभित्र पञ्चपुरीका करिब २,५०० घरधुरीमा आधुनिक सुधारिएको चुलो निर्माण गर्ने लक्ष्य राखिएको छ।
चुलो निर्माणका लागि आवश्यक खर, माटो र भुसजस्ता स्थानीय सामग्री सम्बन्धित घरधुरी स्वयंले उपलब्ध गराउने व्यवस्था मिलाइएको आवाज संस्थाका सामाजिक परिचालक तेजबहादुर रोकायले जानकारी दिनुभयो। यस अभियानबाट इन्धन बचत, धुवाँमुक्त भान्सा, स्वास्थ्य सुधार र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।



