
सुर्खेत, १८ भदौ। सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।
बिहीबार (१८ भदौ) साँझ करिब ६:०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना चेकपोष्टमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी चौकी सुब्बाकुना सुर्खेतका प्रहरी नायब निरीक्षक (प्रनानि) गोबिन्द खत्रीको कमाण्डमा खटिएको ५ जना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक (प्रसनि) निरज पालको कमाण्डमा खटिएको २ जनाको संयुक्त टोलीले जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
चेकपोष्टमा क.प्र.०२-००१ च ०८७६ नम्बरको स्कारपियो गाडीलाई रोकी चेकजाँच गर्दा सवार व्यक्तिहरूको साथबाट शुद्ध १९ ग्राम ५१० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरू:
१. सहविर सुनार (वर्ष १८), निवासी: वीरेन्द्रनगर न.पा.–५, चिसापानी, सुर्खेत
२. दिपेन्द्र बैगार (वर्ष ३२), निवासी: सोही स्थान
३. विशाल गन्दर्भ (वर्ष १५), निवासी: सोही स्थान
४. नरेश सुनार (वर्ष १७), निवासी: सोही स्थान
लागूऔषध र प्रयोग गरिएको स्कारपियो गाडीसहित नियन्त्रणमा लिइएका चारै जनालाई साँझ ८:१५ बजे आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

