
सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतले आव २०८३/०८४ को भदौ महिनामा सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा प्रहरीले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
अपराध अनुसन्धान तथा मुद्दा फछ्र्यौट
भदौ महिनामा कुल ६१ वटा मुद्दा दर्ता भएकोमा ३१ वटा मुद्दा फछ्र्यौट भइसकेका छन्। सो क्रममा ५९ जना (५३ पुरुष, ४ महिला र २ बालक) पक्राउ परेका छन् भने ११ जना फरार रहेका छन्।
जघन्य तथा गम्भीर अपराध: ९ वटा गम्भीर र ७ वटा जघन्य अपराधका मुद्दा दर्ता भएकोमा सबै (९ वटै गम्भीर र ७ वटै जघन्य) मुद्दा फछ्र्यौट भइसकेका छन्।
महिला, बालिका तथा जेष्ठ नागरिक: महिला तथा बालबालिकासँग सम्बन्धित ७ वटा मुद्दा दर्ता भई ५ वटा फछ्र्यौट भएका छन्। उजुरी/निवेदन दर्तातर्फ कुल ८१ वटा निवेदन प्राप्त भएका थिए।
फैसला कार्यान्वयन: विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी कुल ७ वर्ष १५ दिन कैद सजाय भुक्तानका लागि कारबाही अघि बढाइएको छ।
हराएका मानिसहरूको खोजी: भदौ महिनामा हराएका ६२ जनामध्ये ४१ जना र विगतमा हराएका १० जना गरी कुल ५१ जना मानिसहरू फेला पारी परिवारको जिम्मा लगाइएको छ।
हातहतियार तथा लागुऔषध बरामद
प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट अवैध हातहतियार र ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ:
अवैध हातहतियार: चौकुने गाउँपालिका-६ स्थित वनडाल सामुदायिक वनको ओडारबाट ६ थान र सिम्ता गाउँपालिका-४ पिल्कबाट १ थान गरी कुल ७ थान भरुवा बन्दुक बरामद गरिएको छ। साथै, जि.प्र.का. हिरासतमा रहेका थुनुवाको सोधपुछका आधारमा दैलेखको राकम खोलीबजार नजिकै झाडीमा लुकाइराखेको अवस्थामा made in chechoslovakia लेखिएको १ थान पेस्तोल, १ थान म्यागजिन र ५ राउन्ड गोली बरामद गरिएको छ। यसबाहेक ८१ बमको १ थान सेल (विस्फोटक पदार्थ) फेला परेकोमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
लागुऔषध नियन्त्रण: लागुऔषधसम्बन्धी ८ वटा मुद्दा दर्ता गरी १९ जनालाई पक्राउ गरिएको छ। प्रहरीले २३.०४ ग्राम ब्राउन सुगर (हिरोइन), ३८ ग्राम ४७० मिलिग्राम चरेस, २१ ग्राम ४४० मिलिग्राम गाँजा, २ बोतल कोरेलेक्स (२०० ML) र १ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ।
सवारी दुर्घटना, ट्राफिक र अवैध नदीजन्य पदार्थ नियन्त्रण
सवारी दुर्घटना: भदौ महिनामा कुल ४८ वटा सवारी दुर्घटना भएका छन्, जसमा परि ५ जनाको मृत्यु (३ पुरुष, २ महिला), २६ जना गम्भीर घाइते र ३८ जना साधारण घाइते भएका छन्।
कारबाही तथा राजस्व: सवारी चेकिङका क्रममा ८५ वटा सवारी साधनलाई कारबाही गरी रु. ८२,९५०/- राजस्व दाखिला गरिएको छ। ओभरलोड र भवरलोड बोकेका १०१ वटा सवारी साधनलाई कारबाही गरिएको छ।
अवैध उत्खनन नियन्त्रण: वीरेन्द्रनगरका करेखोला र धुलियाविट क्षेत्रबाट अवैध रुपमा ढुङ्गा तथा बालुवा लोड गरिएका ३ वटा ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।
समुदाय-प्रहरी साझेदारी र अन्य रचनात्मक कार्य
जनचेतनामूलक कार्यक्रम: समुदाय-प्रहरी साझेदारीअन्तर्गत भदौ महिनामा साइबर अपराध, बैंकिङ कसुर, जातीय भेदभाव, विपद व्यवस्थापन, घरेलु हिंसा, लागुऔषध र मानव बेचबिखनविरुद्ध १०१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी कुल २५,०८० जनालाई लाभान्वित गराइएको छ।
विद्यालय केन्द्रित कार्यक्रम: १० देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई लक्षित गरी ६ वटा विद्यालयमा ३९१ जना विद्यार्थीहरूको सहभागितामा सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ।
प्रहरी कर्मचारी मनोबल वृद्धि: प्रहरी कर्मचारीको उत्प्रेरणाका लागि काक्रेविहार परिसरमा अवलोकन भ्रमण/पदयात्रा तथा तिज विशेष कार्यक्रम आयोजना गरिएको थियो।
सेवाग्राही सुविधा: भदौ महिनामा कुल ८,९१० जना सेवाग्राहीले सेवा लिएका छन्। सेवाग्राहीको सहजताका लागि टोकन सिस्टम लागू गरिएको छ भने विभिन्न सिफारिस पत्रहरू जारी गरिएको छ।



