
काठमाडौँको नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर स्थानीयको विरोधपछि रोकिएको छ । शनिबार बिहानैदेखि संरचना भत्काउन पुगेको नगर प्रहरी र डोजरलाई स्थानीय घरधनीहरूले आफ्नो जग्गाको स्वामित्व पुष्टि हुने 'लालपूर्जा' देखाउँदै अवरोध गरेका हुन् ।
विष्णुमती नदी किनारको मापदण्ड विपरीतका संरचना हटाउने अभियान अन्तर्गत डोजर परिचालन गरिएको भए पनि ६ जना घरधनीहरूले कडा प्रतिवाद गरेका छन् । उनीहरूले आफ्ना घरका भित्तामा जग्गाको लालपूर्जा टाँसेर "आफ्नो निजी सम्पत्ति भत्काउन नदिने" अडान लिएका छन् । ती घरहरू नदी किनारसँगै जोडिएर निर्माण गरिएका छन् ।
स्थानीयको विरोध र तनाबपूर्ण अवस्थालाई मध्यनजर गर्दै घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सम्भावित कानुनी जटिलता र स्थानीयको दाबीका बारेमा अहिले सम्बन्धित निकायहरूबीच छलफल भइरहेको छ ।
सरकारी अधिकारीका अनुसार स्थानीयले देखाएको लालपूर्जा र सरकारी अभिलेखबीच भिडान गरिनेछ । सरकारी मापदण्ड र अभिलेखसँग मेल खाए वा नखाएको यकिन गरेपछि मात्रै आगामी कदम चालिने प्रशासनले जनाएको छ


