
सुर्खेत, ५ भदौ ।
दैलेखको आठबीस नगरपालिकाका दुई जनालाई स्वचालित हतियार पेस्तोल र सोको गोलीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ।
अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका अभियुक्तको बयानका आधारमा प्रहरीले दैलेखको आठबीस नगरपालिका-४ स्थिति राकम खोलीबजार नजिकैको खोल्सामा लुकाई-छिपाई राखिएको पेस्तोल र गोली बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा दैलेखको आठबीस नगरपालिका वडा नं. ६ बस्ने ३० वर्षीय भिम बहादुर शाही र सोही नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षीय भुपेन्द्र शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धान तथा सोधपुछका क्रममा अभियुक्त भुपेन्द्र शाहीले हतियार लुकाएको बयान दिएका थिए। सोही बयानका आधारमा प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) कृष्ण चन्दको कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी खोजतलास गरेको थियो।
खोजतलासका क्रममा खोलीबजार नजिकैको खोल्साको झाडीमा कालो प्लास्टिकको पोकामा बेरेर राखिएको अवस्थामा ‘MADE IN CZECHOSLOVAKIA’ र १०५०२८ नम्बर उल्लेख भएको १ थान स्वचालित पेस्तोल, १ थान म्यागजिन र सोही पेस्तोलमा प्रयोग हुने ५ राउन्ड गोली भदौ ५ गते दिउँसो १२:०० बजे बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि उनीहरूविरुद्ध हातहतियार खरखजानासम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) कविन्द्र सिंह बोहराले जानकारी दिएका छन्।


