
दैलेख, २५ भदौ।
दैलेखको आठबीस नगरपालिका–७ लुडसैनमा चट्याङ लाग्दा एक जना महिला घाइते भएकी छन् भने घर आँगनमा बाँधिएको एउटा भैँसीको घटनास्थलमै मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय राकम कर्णालीका अनुसार आज (बिहीबार) दिउँसो करिब ४:३० बजेको समयमा स्थानीय राजेन्द्र बहादुर मिजारको घरको आँगनमा अकस्मात् चट्याङ परेको थियो।
चट्याङ पर्दा आँगनमा बाँधिएको एउटा भैँसीको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, घरको आँगनमै रहेकी राजेन्द्र बहादुर मिजारकी करिब ४५-४६ वर्षीया श्रीमती दुर्गा मिजार घाइते भएकी छन्। चट्याङको धक्काबाट उनको खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुर्गा मिजारलाई उपचारका लागि तत्काल राकम कर्णालीतर्फ ल्याइँदै गरिएको र उनको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ।

