
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको एक जहाज चरासँग ठोक्किएको छ। काठमाडौँबाट पोखराका लागि शनिबार उडेको फ्लाइट नम्बर ६१ को 9N-AOC कल साइन भएको जहाज अवतरणको अन्तिम चरणमा चरासँग ठोक्किन पुगेको हो। आकस्मिक घटनाका बावजुद, चालक दलले जहाजलाई सफलतापूर्वक सुरक्षित अवतरण गराएका छन्। बुद्ध एयरले जहाजमा सवार सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेको पुष्टि गरेको छ। घटनापछि जहाजलाई पोखरा विमानस्थलमा ग्राउन्डेड गरी कम्पनीको विशेषज्ञ प्राविधिक टोलीले विस्तृत निरीक्षण गरिरहेको छ। प्राविधिक जाँच पूरा भई उडानका लागि योग्य प्रमाणित भएपछि मात्र जहाजले पुनः सेवा सुरु गर्ने कम्पनीले जनाएको छ।


