
दैलेख : जिल्लाका विभिन्न स्थानबाट लागू औषध (ब्राउन सुगर) सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले दुल्लु र नारायण नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भदौ ३० गते बिहान १:०० बजे दुल्लु नगरपालिका वडा नं. ०६ स्थित दुल्लु बजारमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा दुल्लु-६ बस्ने २२ वर्षीय जिवन भण्डारी र डुङ्गेश्वर गाउँपालिका वडा नं. ०१ बस्ने २३ वर्षीय घनश्याम खड्का रहेका छन्। उनीहरूको साथबाट लुकाई छिपाई प्लास्टिकले बाँधेर राखिएको अवस्थामा ८९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको छ।
त्यस्तै, सोही दिन दिउँसो १३:०० बजे नारायण नगरपालिका वडा नं. ०६ स्थित गणेश चोकमा शंकास्पद रूपमा फेला परेका २१ वर्षीय शिवराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको पाइन्टको गोजीमा लुकाई राखिएको अवस्थामा ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुष्पराज रोकायले जानकारी दिए।


