
सुर्खेत — सुर्खेतको लेकबेँसी नगरपालिका–१० झुप्रामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
भदौ २७ गते बिहान करिब ११:४५ बजे लेकबेँसीबाट भूतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदल यात्री वीरेन्द्रनगर नगरपालिका–१० बरीपाटी बस्ने ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो। मोटरसाइकल १७ वर्षीय मनोज आचार्यले चलाएका थिए।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी बुढालाई तत्काल उपचारका लागि माया नर्सिङ होम भिजाइएको थियो। बाहिरी चोट नदेखिए पनि भित्री चोटका कारण अचेत अवस्थामा रहेकी उनलाई थप उपचारका लागि सोही दिन दिउँसो १२:३० बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि दिउँसो १:३० बजे थप उपचारका लागि नर्सिङ होम नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।
अचेत अवस्थामै उपचार गराइरहेकी बुढाको भदौ २८ गते बिहान ७:२० बजे नेपालगन्जस्थित नर्सिङ होममा मृत्यु भएको हो।
दुर्घटना लगतै इलाका प्रहरी कार्यालय लेकबेँसीबाट प्रहरी सहायक निरीक्षक रामराज चौधरीको कमान्डमा ट्राफिकसहित ३ जनाको टोली घटनास्थल पुगेको थियो। ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय लेकबेँसी र चालकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

