
सुर्खेत।
सुर्खेतको बराहताल गाउँपालिका–४ स्थित घुमाउने नजिकै भेरी नदीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।
बुधबार (भदौ २ गते) साँझ करिब ५:४५ बजेको समयमा नदीमा करिब २५ देखि ३० वर्ष उमेर जस्तो देखिने पुरुषको शव तैरिरहेको अवस्थामा स्थानीय नविन काफ्लेले देखेपछि अस्थायी प्रहरी पोष्ट तरंगामा खबर गरेका थिए।
घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट तरंगाका प्रहरी सहायक निरीक्षक (प्रसनि) कृष्ण बहादुर बिष्टको कमाण्डमा ३ जनाको प्रहरी टोली साँझ ६:२० बजे घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक (प्रनि) भुपेन्द्र शाहीको नेतृत्वमा ७ जनाको टोली खटिएको प्रहरीले जनाएको छ। उक्त घटनास्थल अस्थायी प्रहरी पोष्ट तरंगाबाट करिब ३ किलोमिटर पश्चिम र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट करिब ४५ किलोमिटर पूर्व-दक्षिणमा पर्दछ।
प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी राति ११:०० बजे पोष्टमार्टमका लागि शव प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाएको थियो। शवलाई भदौ ३ गते बिहान १:१० बजे अस्पतालको शव गृह (Mortuary) मा राखिएको छ।
मृतकको पहिचान अझै हुन सकेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकको सनाखतका लागि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

