
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा सर्वसाधारणलाई ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि एकैसाथ छापा मारेको छ। शुक्रबार गरिएको उक्त विशेष कारबाहीका क्रममा प्रहरीले ६९ जना कन्सल्टेन्सी सञ्चालकहरूलाई नियन्त्रणमा लिएको छ।
विदेश पढ्न पठाइदिने प्रलोभन देखाएर नेपाली नागरिकहरूलाई ठगी गरेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उपत्यकाका विभिन्न स्थानमा रहेका कन्सल्टेन्सीहरूमा एकैसाथ छापा मारेको हो।
प्रहरीका अनुसार कारबाहीमा परेका यी संस्थाहरूले प्रचलित कानुनी मापदण्डहरू पालना नगरेको पाइएको छ। उनीहरूले मुख्य गरी देहायका नियमहरूको उल्लङ्घन गरेका छन्:
शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को पालना नगरेको।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा उल्लेखित मापदण्ड विपरीत कार्य गरेको।
कन्सल्टेन्सी दर्ता नगरी र नवीकरण समेत नगराई अवैध रूपमा सञ्चालन गरेको।
सरकारबाट इजाजत नलिई शैक्षिक परामर्श, भाषा शिक्षण र पूर्व तयारी कक्षाहरू सञ्चालन गरेको।
अनुसन्धानका क्रममा यी संस्थाहरूले उच्च शिक्षाका लागि विदेश पठाइदिने प्रलोभन देखाई सर्वसाधारणबाट ठुलो रकम असुल गरी आर्थिक ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ६९ जना सञ्चालकहरूलाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयोकाे छ।
प्रहरीले यस्ता अवैध शैक्षिक परामर्श केन्द्रहरू वा कन्सल्टेन्सीहरूबाट ठगीमा परेका सम्पूर्ण पीडितहरूलाई यथाशिघ्र प्रमाणसहित टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क राख्न अनुरोध समेत गरेको छ।



