
कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले इन्धन र निर्माण सामग्रीमा भएको अनपेक्षित मूल्यवृद्धिका कारण निर्माण क्षेत्र धराशायी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल 'मूल्य समायोजन' र 'म्याद थप' नगरे प्रदेशभरका विकास निर्माणका काम ठप्प पार्ने चेतावनी दिएको हो।
महासंघका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जना भएको इन्धन संकट र अन्तर्राष्ट्रिय बजारको प्रभावले डिजेल, पेट्रोल, मट्टितेलसँगै बिटुमिन, सिमेन्ट र फलामे डण्डीको मूल्य आकाशिएको छ। यसलाई महासंघले निर्माण क्षेत्रमा आएको 'सुनामी' को संज्ञा दिएको छ।
इन्धन र कच्चा पदार्थको अभाव तथा मूल्यवृद्धिका कारण पुराना ठेक्काहरूमा काम अघि बढाउन नसकिने अवस्था सिर्जना भएको छ।
बजारमा सामानको भाउ बढे पनि नेपाल राष्ट्र बैंकको मूल्य सूचकाङ्कले घटेको देखाउँदा ठेक्काको मूल्य समायोजनमा प्राविधिक समस्या उत्पन्न भएको व्यवसायीहरूको दाबी छ।
सरकारले ठोस पहल नगर्दा यस क्षेत्रमा आश्रित लाखौँ श्रमिक र निर्माण उद्योगहरू बन्द हुने संघारमा पुगेका छन्।
प्रत्येक आयोजनामा बजार भाउ अनुसार मूल्य मिलान गर्न 'मूल्य समायोजन मार्ग निर्देशिका–२' तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने।
बैंक ग्यारेन्टी र बिमाको म्याद सहित सम्पूर्ण निर्माणाधीन आयोजनाहरूको समय थप गरिदिनुपर्ने।
महासंघका महासचिव मानव बमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "राष्ट्रिय गौरवका आयोजनादेखि साना योजनासम्म सबै ठप्प छन्। सरकारले मौखिक आश्वासन मात्र दिएर हुँदैन, तत्काल राहत प्याकेज नदिए निर्माण उद्योग पूर्ण रूपमा धराशायी हुने निश्चित छ।"
विकासको मेरुदण्ड मानिने निर्माण क्षेत्र नै संकटमा परेपछि कर्णालीका पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न हुनेमा भने थप अन्योल थपिएको छ।



