
सुर्खेत, २० असार ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेशस्तरीय ‘कर्णाली कप’ रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। कर्णाली प्रदेश बुद्धिचाल संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोगमा यो प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघको प्राविधिक समन्वय रहेको छ।
वीरेन्द्रनगर-६ स्थित ‘बगैँचा कटेज’ मा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो। कार्यक्रम कर्णाली प्रदेश बुद्धिचाल संघ सुर्खेतका अध्यक्ष मिस्टर कार्लमाक्स श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
दशौँ राष्ट्रिय खेलकुदको तयारी र प्रतिभा पहिचान
उद्घाटन सत्रमा बोल्दै अध्यक्ष कार्लमाक्स श्रेष्ठले कर्णाली प्रदेशमा लुकेर रहेका बुद्धिचाल (चेस) का प्रतिभाहरूलाई बाहिर ल्याउन यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "यस खेलले प्रदेशका कुना–कुनामा रहेका खेलाडीलाई मञ्च त दिएकै छ, साथै आउँदै गरेको दशौँ राष्ट्रिय खेलकुदका लागि प्रदेशको बलियो टिम तयार पार्न पनि यसले मुख्य भूमिका खेल्नेछ।"
प्रतियोगिता असार २० गतेदेखि सुरु भई २२ गतेसम्म चल्नेछ। विभिन्न जिल्लाबाट आएका खेलाडी तथा व्यवस्थापकहरूका लागि वीरेन्द्रनगरमा बस्न र खानको सम्पूर्ण प्रबन्ध आयोजकले मिलाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
१० वर्षदेखि ७२ वर्षसम्मका ८४ खेलाडी सहभागी
यस प्रतियोगिताको मुख्य विशेषता भनेकै उमेर समूहको विविधता बनेको छ। खेलमा १० वर्षका बाल खेलाडीदेखि ७२ वर्षका ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको छ। कर्णालीका विभिन्न जिल्लाहरूबाट विभिन्न विधामा गरी कुल ८४ जना खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गरिरहेका छन्।
२ लाख २९ हजार पुरस्कार राशि
प्रतियोगितालाई थप प्रतिस्पर्धी र आकर्षक बनाउन आयोजकले कुल नगद पुरस्कार राशि २ लाख २९ हजार रुपैयाँ राखेको छ। विभिन्न उमेर समूह र विधाका उत्कृष्ट खेलाडीहरूलाई यो पुरस्कार वितरण गरिने जनाइएको छ।
उद्घाटन कार्यक्रममा बुद्धिचाल संघका कर्णाली प्रदेशका विभिन्न जिल्लाका अध्यक्षहरू, पदाधिकारीहरू तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। तीन दिनसम्म चल्ने यो बुद्धिचालको महाकुम्भले कर्णालीमा चेस खेलको जग अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

