
सुर्खेत, २३ साउन । सुर्खेतको बराहताल गाउँपालिका–८ हुर्के स्थित शान्ति सामुदायिक वनमा दुई थान बेवारिसे भरुवा बन्दुक फेला परेको छ।
शनिबार (साउन २३ गते) दिउँसो करिब १२:०० बजेको समयमा प्रहरी चौकी बड्डीचौरबाट नियमित गस्तीमा निस्किएको प्रहरी टोलीले वन क्षेत्रभित्र लुकाईछिपाई राखिएको अवस्थामा उक्त हतियार फेला पारेको हो।
घटनाको विस्तृत विवरण
प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) लोकेन्द्र परियारको कमाण्डमा खटिएको ५ जनाको गस्ती टोलीले शान्ति सामुदायिक वनमा खोजतलास गर्ने क्रममा सुकेको सालको रूखको टोड्कामा लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक थान–२ बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएका हतियार वन्यजन्तु चोरीसिकारी वा अन्य गैरकानुनी गतिविधिमा प्रयोग गर्ने उद्देश्यले लुकाएको हुनसक्ने आशंका गरिएको छ।
अनुसन्धान तीव्र
घटनास्थलको थप अनुसन्धान, नापजाँच तथा मुचुल्का उठाउनका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतका प्रहरी निरीक्षक (प्र.नि.) भुपेन्द्र शाहीको कमाण्डमा ५ जनाको थप प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
उक्त हतियार कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको र हतियार धनीको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।



