
विराटनगर — तास खेलिरहेको स्थानमा प्रहरीको गस्ती टोली पुगेपछि भएको भागदौडका क्रममा पक्राउ परेका एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा प्रहरी पुगेपछि कौडा र तास खेलिरहेका व्यक्तिहरूबीच भागाभाग भएको थियो।
भागदौडका क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो। यस्तै, दुई तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँच्चिएको र श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घटनाको रात तासको खालबाट ८ जनालाई पक्राउ गरिएको थियो। भागदौडका क्रममा कोइराला सामान्य घाइते भएका थिए। पक्राउ गरेपछि गराइएको स्वास्थ्य जाँचमा अवस्था सामान्य देखिएपछि कोइरालासहित सात जनालाई सोमबार राति हिरासतमा राखिएको थियो।
तर, मंगलबार बिहान साढे ७ बजेतिर हिरासतमा रहेका कोइराला अचेत अवस्थामा भेटिएका थिए। अन्य थुनुवाले उठाउन खोज्दा नउठेपछि प्रहरीले उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगेको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले बिहान ११ बजे उनलाई मृत घोषित गरेका हुन्।
प्रहरीका अनुसार मृतक कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको थियो। मृत्युको स्पष्ट कारण भने हालसम्म खुल्न नसकेको र शव नोबेल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले कौडा र तासको खालबाट नगद ४८ हजार ३९५ रुपैयाँसहित साजन राजवंशी, सत्यनारायण राजवंशी, तोरण यादव, राजेश कामत, गंगाराम मण्डल र विष्णु कामतलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।


