
सुर्खेत, भदौ ३ गते ।
पश्चिम सुर्खेतको बराहताल गाउँपालिका स्थित भेरी नदीको किनारमा एक महिलाको सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ।
बराहताल गाउँपालिका–४ तरङ्गा स्थित भेरी नदीको किनारमा महिलाको शव देखेपछि वीरेन्द्रनगर नगरपालिका–१० का ५७ वर्षीय भीमबहादुर थापाले अस्थायी प्रहरी पोष्ट तरङ्गामा जानकारी गराएका थिए।
खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) कृष्णबहादुर विष्टको कमाण्डमा प्रहरी टोली बिहान १०:४५ बजे घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगी हेर्दा कम्मरभन्दा माथिको भाग अत्यधिक सडिगलेको र कम्मरमुनिको भाग मात्र पहिचान हुन सक्ने अवस्थामा महिलाको शव फेला पारेको छ।
उक्त घटनास्थल अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट करिब १ किलोमिटर पूर्वतर्फ पर्दछ। घटनाको प्रारम्भिक मुचुल्का पछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक (प्रनि) भूपेन्द्र शाहीको कमाण्डमा ५ जनाको विशेष अनुसन्धान टोली खटिएको छ। शवको पहिचान खुलाउने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

