
वीरेन्द्रनगर (सुर्खेत)। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित बटला चोकमा दुई वटा अटो-रिक्सा एकआपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् भने एक चालक फरार रहेका छन्।
सोमबार (साउन १९ गते) राति करिब ११:०० बजेको समयमा पिपिराबाट नेवारेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ह ०६७८ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ह १२२४ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते तथा अवस्था
दुर्घटनामा क.प्र.०२-००१ ह ०६७८ नम्बरको अटोमा सवार वीरेन्द्रनगर नगरपालिका–१३ बस्ने २० वर्षीय गगन ठाडा घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते ठाडाको हाल प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।
त्यस्तै, अर्को अटो (क.प्र.०२-००१ ह १२२४) मा सवार जाजरकोट जुनीचाँदे गाउँपालिका–७ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने २७ वर्षीय अनिल घर्ती मगर र २२ वर्षीय महेन्द्र बस्नेत सामान्य घाइते भएका थिए। उनीहरू भने प्राथमिक उपचार नगरी आफैँ गएको प्रहरीले जनाएको छ।
चालक नियन्त्रण र प्रहरी कारबाही
घटनालगत्तै प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी नायब निरीक्षक (सई) गोविन्द खत्रीको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले क.प्र.०२-००१ ह ०६७८ नम्बरको अटो चालक वीरेन्द्रनगर–१३ का २५ वर्षीय धनवीर गाहामगर र दुवै अटोलाई नियन्त्रणमा लिएको छ। अर्को अटोका चालक घटनापछि फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको सुब्बाकुना प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

