
सुर्खेत, भदौ ३ गते ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका स्थित निर्माणाधीन सुर्यतारा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुर ओछ्यानमै मृत अवस्थामा फेला परेका छन्।
रौतहटको देवाही गोनाही नगरपालिका-६ घर भई विगत दुई महिनादेखि चौकुने गाउँपालिका-९ सुनाकाँडास्थित सुर्यतारा सिमेन्ट उद्योगमा काम गर्दै आएका अन्दाजी ३२ वर्षीय श्याम बाबू राम मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार बुधबार बिहान करिब ६:०० बजे छाती दुख्यो भन्दै ओछ्यानमा सुतेका उनी पछि साथीहरूले हेर्दा मृत अवस्थामा फेला परेका थिए। घटनावारे उद्योगका सुपरभाइजर बुद्धिराज रिमालले अस्थायी प्रहरी पोष्ट घाटगाउँमा खबर गरेका थिए।
खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घाटगाउँ सुर्खेतबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) सिंह बहादुर कडालको कमाण्डमा २ जना र थप अनुसन्धानका लागि तालुक इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक (प्रनि) भुपेन्द्र शाहीको कमाण्डमा ६ जनाको टोली घटनास्थलतर्फ खटिएको छ।
मृतकका परिवार (भाउजु) लाई घटनाबारे जानकारी गराइ सकिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

