
सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्।
भेरीगंगा नगरपालिका–१३ रामघाट बस्ने ५० वर्षीया महेश्वरी रानामाथि उनका ४९ वर्षीय श्रीमान् जयबहादुर रानाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।
प्रहरीका अनुसार साउन २६ गते साँझ करिब ५:०० बजेको समयमा जयबहादुरले श्रीमतीको शरीरमा पेट्रोल छर्की आगो सल्काएका थिए। घटना देखेलगत्तै १८ वर्षीया छोरी पुष्पा रानाले आगो निभाएर आमालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएकी थिइन्।
आगोले महेश्वरीको अनुहार, घाँटी र शरीरका विभिन्न भाग जलेको छ। उनको शरीरको करिब ३५ देखि ३६ प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको अस्पतालमा खटिएका प्रहरी हवल्दार कृष्णबहादुर थापाले जानकारी दिएका छन्।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी रामघाटबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) जितबहादुर खड्काको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक (प्रनि) प्रकाश केसीको कमाण्डमा ७ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।
नेपालगञ्ज हुँदै लखनउ रिफर
कर्णाली प्रदेश अस्पतालमा प्राथमिक उपचारपश्चात् महेश्वरीलाई साँझ ६:४० बजे थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो। राति १०:३० बजे भेरी अस्पताल पुर्याइएकी उनको अवस्थालाई दृष्टिगत गर्दै राति ११:३० बजे थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ। घाइतेसँगै उनकी छोरी पुष्पा राना र नेपाल प्रहरी विशेष सुरक्षा गण बेस क्याम्प गुमीमा कार्यरत (घाइतेका छोरा) प्रहरी जवान देवेन्द्र थापा रहेका छन्।
आरोपी श्रीमान् नियन्त्रणमा
घटनापछि फरार रहेका आरोपी श्रीमान् जयबहादुर रानालाई साँझ ६:५० बजे कर्णाली प्रदेश अस्पताल बाहिरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका जयबहादुर स्वयं पनि घाइते रहेकाले राति ११:४५ बजेदेखि कर्णाली प्रदेश अस्पताल कालागाउँमै भर्ना गरी प्रहरी निगरानीमा उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।

