
सुर्खेत, ६ असोज ।
सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चामा फरुवा प्रहार गरी एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
स्थानीय ३२ वर्षीय गोपीराम जैसीले आफ्नै ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीलाई घरमा फरुवाले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आज मङ्गलबार बिहान करिब १०:२० बजेको समयमा घटेको उक्त घटनाबारे चौकुने गाउँपालिका वडा नं. ५ का वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले प्रहरीलाई जानकारी गराएका थिए। खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिजौराबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) बुद्धी साउँदको कमाण्डमा ४ जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ प्रस्थान गरेको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा सिनियर अफिसर तथा अपराध अनुसन्धान शाखा (SOCO) सहित ७ जनाको विशेष टोली घटनास्थलतर्फ खटाइएको छ।
श्रीमतीमाथि फरुवा प्रहार गर्ने गोपीराम जैसीलाई स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


